ब्राभोले दिए ईपिएल विजेता ललितपुरलाई बधाई (भिडियो सहित)

एभरेस्ट प्रिमियर लिग टि-२० विजेता ललितपुर प्याट्रीएट्सलाई बिश्व प्रसिद्ध वेस्ट इन्डिज क्रिकेटर ड्वेन ब्राभोले बधाई दिएका छन्। ज्ञानेन्द्र मल्ल कप्तानीको ललितपुरले पहिलो पटक ईपिएल उपाधि जित्ने क्रममा शनिवार सम्पन्न फाइनलमा शरद भेसावकर कप्तानीको भैरहवा ग्ल्याडीएटर्सलाई १४ रनले पराजित गरेको थियो । फाइनलमा पहिले ब्याटिंग गर्दै ललितपुरले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा भैरहवाले २० ओभरमा ९ विकेट गुमाएर १४१ रन मात्रै बनाउन सकेको थियो।

जित पछि प्याट्रीएट्सलाई भिडियो मार्फत ब्राभोले बधाई दिएका हुन्। ब्राभोले आफुले गाएको चर्चित गित ‘च्याम्पियन’ गाउदै बधाई दिएको उक्त भिडियो ललितपुर प्याट्रीएट्सका टिम मालिक किशोर महर्जनले आफ्नो फेसबुकमा राखेका छन्।
“ललितपुर, यो हो च्याम्पियन डिजे ब्राभो म ललितपुर प्याट्रीएट्सलाई बधाई दिन चाहन्छु।” भन्दै ब्राभोले आफ्नो गित च्यापियनमा ललितपुरलाई जोड्दै “एभ्री बडी नोज इट ललितपुर च्याम्पियन” भन्दै गित गएका छन्। यस्तै भिडियोको अन्तिममा उनले “सन्दिप इज ए च्याम्पियन समेत भनेर अन्त्य गरेका छन् ।

ब्राभो र सन्दिप बिग ब्यास लिगमा एकै टिम मेलबर्न स्टार्समा रहेका छन्। दुवै बिदेशी खेलाडीको रुपमा टिममा रहंदा सन्दिपले ईपिएलमा आफ्नो टिम ललितपुरको लागि बधाई दिन लगाएका हुन्।

ईपिएलमा सन्दिपले पहिलो २ खेल खेल्दै बिग ब्यास खेल्न अस्ट्रेलिया प्रस्थान गरेका थिए। ललितपुरले खेलेको २ खेलमा सन्दिपले राम्रो प्रदर्शन गर्दै २ खेलमा ५ विकेट लिएका थिए। त्यस क्रममा सन्दिपले बिराटनगर वारियर्ससंग २ तथा चितवन टाइगर्ससंग ३ विकेट लिएका थिए।

credit: WicketNepal