ब्राजिलियन रोनाल्डोको टप ५ खेलाडीमा क्रिस्टियानो रोनाल्डो परेनन्; को को हुन ती ५ खेलाडी?

ब्राजिलियन लिजेन्डरी खेलाडी रोनाल्डोले आफ्ना उत्कृष्ट पाँच खेलाडी छानेका छन् । स्पेनिस पत्रिका ‘एएस’सँग कुरा गर्दै रोनाल्डोले आफूलाई मन पर्ने खेलाडीको नाम लिएका हुन् ।

अन्तर्वार्ताक्रममा रोनाल्डोलाई आफूलाई मन पर्ने ५ जना खेलाडीको नाम लिन भनिएको थियो । जहाँ ब्राजिललाई विश्वकप जिताएका रोनाल्डोले स्पेनिस बार्सिलोनाका अर्जेन्टिनी मेस्सीलाई नम्बर वानमा राखेका छन् ।

तर, रोनाल्डोले पोर्चुगललाई सन् २०१६ को युरो कपसमेत जिताएका इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डोको नाममा उत्कृष्ट पाँचमा लिएनन् । बरु, उनले बेल्जियमका इडेन हाजार्डलाई उत्कृष्ट खेलाडीको सूचीमा राखे ।

‘अवश्य पनि मेस्सी । उनी नम्बर वान हुन् । उनीसँग यस्तो क्षमता छ कि, यस्तै कुरा अरू खेलाडीबाट हेर्न हामीले कम्तीमा ३० वर्ष पर्खनुपर्छ,’ रोनाल्डोले भने ।

रोनाल्डोले मेस्सीपछि ४ जना खेलाडीको नाम लिँदा पनि पोर्चुगिज रोनाल्डोको नाम आएन । ‘मलाई मोहमद सालाह, इडेन हाजार्ड, नेइमार मन पर्छ । म केलियन एमबाप्पेको खेल हेर्न पनि रुचाउँछु ।’