ब्राजिलले गर्यो गोलको बर्सा, रिचार्लीसनको सान्दार डेब्यु

ब्राजिलो राष्ट्रिय टोलीबाट पहिलो पटक सुरुआती रोजाईमा खेलिरहेका एभरटनका रिचार्लीसनले दुई गोल गरेपछि ब्राजिलले म्यारील्यान्डमा भएको मैत्रीपूर्ण खेलमा एल साल्भाडोरलाई ५-० ले पराजित गरेको छ ।

प्रशिक्षक टिटेले गोलरक्षक नेटो र डिफेन्डर एडार मिलिसाओलाई डेब्यु गराएको खेलमा पहिलो रोजाइमा परेका रिचार्लीसन फरवार्ड र आर्थरले मिडफिल्डमा खेलेका थिए । विश्व वरियताको ७२ औं स्थानमा रहेको एल साल्भाडोरविरुद्ध ब्राजिलले तेस्रो मिनेटमा नै अग्रता लियो । रिचार्लीसनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा नेयमारले गोल गरे ।

त्यसको केहि मिनेटपछि रिचार्लीसन आफैंले गोल गरे । उनले १५ मिटर टाढाबाट गरेको उत्कृष्ट प्रहार टप कर्नरमा छिरेको थियो । खेलको आधा घण्टा समय नबित्दै ब्राजिल ३-० ले अगाडी बढ्यो । नेयमारको पासमा फिलिपे कोउटिन्होले पेनाल्टी क्षेत्र बाहिरबाट गोल गर्दै ब्राजिललाई सहज जिततर्फ उन्मुख गराए ।

दोस्रो हाफमा दुवै टोलीले खेलाडी परिवर्तन गरे। त्यसका बाबजुद पनि ब्राजिलले पाँचौ मिनेटमा नै चौथो गोल गर्यो । पेनाल्टी क्षेत्रभित्रको बललाई उनले शक्तिशाली प्रहर गर्दै गोलमा परिणत गरे । मार्किन्हसले खेलको अन्तिम मिनेटमा नेयमारको कर्नरमा हेडर मार्फत गोल गर्दै सहज जित पक्का गरे ।