‘ब्राजिलबिरुद्ध मेस्सी खेल्ला नखेल्ला तर अगुएरो पक्कै खेल्नेछ’ – अर्जेन्टिना प्रशिक्षक

कोपा अमेरिका २०१९ अन्तर्गत पहिलो सेमिफाइनलमा उपाधि दाबेदार दुई टोली ब्राजिल र अर्जेन्टिना भिड्दैछन् । खेल नेपाली समयअनुसार बुधबार बिहान ६:१५ बजे सुरु हुनेछ ।

खेलको पूर्वसन्ध्यामा बोल्दै अर्जेन्टिनाका प्रशिक्षक लिओनेल स्कालोनीले फरवार्ड सर्जियो अगुएरो पहिलो रोजाइमा रहने प्रष्ट पारेका छन् । ३१ वर्षीय अगुएरोले अर्जेन्टिनाले यस प्रतियोगितामा खेलेका ४ मध्ये ३ खेलमा सुरुवाती रोजाईमा खेलेका छन् । उनले कप्तान लिओनेल मेस्सी र लौटारो मार्टिनेजलाई आक्रमणमा साथ दिएका हुन् ।

अगुएरोले अर्जेन्टिनाको लागि अपेक्षित प्रदर्शन गर्न नसकेको अवस्थामा ब्राजिलविरुद्ध उनी पहिलो रोजाइमा नरहने चर्चा भइरहँदा प्रशिक्षक स्कालोनीले उनी सुरुवातबाट खेल्ने बताएका छन् । ‘म अहिले यो पक्का गर्न सक्छु की अगुएरो पहिलो रोजाईमा हुनेछन्, ‘ उनले पत्रकार सम्मेलनमा भने, ‘ अगुएरो सधैं शंकाको घेरामा रहने खेलाडी हुन् तर पहिलो रोजाइमा हुन्छन् । बरु मेस्सी खेल्ने नखेल्ने पक्का छैन, अगुएरो खेल्नेछन् ।’

अर्जेन्टिनाले प्रतियोगितामा गरेको खराब प्रदर्शनलाई सुधार गर्दै फाइनल यात्रा तय गर्ने लक्ष्यमा रहनेछ । प्रतियोगिताको ४ खेलमा २ जित, १ बराबर र १ हार बेहोरेको अर्जेन्टिना पछिल्लो दुई संस्करण नै चिलीसँग फाइनलमा पराजित भएको थियो ।