ब्राजिलको कोपा अमेरिकामा विजयी सुरूवात

कोपा अमेरिका २०१९ मा आयोजक राष्ट्र ब्राजिलले विजयी सुरूवात गरेको छ । शनिबार बिहानै भएको खेलमा बोलिभियालाई पराजित गर्दै नेयमार बिनाको ब्राजिलले कोपा अमेरीकामा विजयी सुरूवात गरेको हो ।

प्रतियोगिताको पहिलो खेलमा घरेलु मैदानमा ब्राजिलले बोलिभियालाई ३–० गोल अन्तरले पराजित गर्यो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा ब्राजिलले गोलको खँडेरी पार गर्न ठूलै संघर्ष गर्नुपरेको थियो ।

खेलको ५० औँ मिनेटमा गोल गर्दै फिलिपे कौटिन्होले ब्राजिललाई सुरूवाति अग्रता दिलाए । त्यसको ३ मिनेटमै आफ्नो दोश्रो गोल गर्दै कौटिन्होले ब्राजिलको अग्रता दोब्बर पारे ।

दुबै तर्फबाट गोलका प्रयास भइरहँदा ब्राजिल ८५ औँ मिनेटमा तेश्रो गोल गर्न सफल भयो । ब्राजिलका लागि एभर्टनले गोल गर्दै ब्राजिलको सहज जित सुनिश्चित गरे ।