ब्राजिलको कप्तानबाट हटाइए नेमार, येस्तो छ कारण

आगामी महिनाबाट शुरु हुने प्रतिष्ठित कोपा अमेरिका प्रतियोगिताको लागि ब्राजिलले नयाँ कप्तान चुनेको थाहा भएको छ । नियमित कप्तान नेमारको स्थानमा डानी एल्भेसलाई ब्राजिल राष्ट्रिय फुटबल टोलीको कप्तानीको जिम्मेबारी दिएको खबर बाहिरिएको छ ।

गत वर्षको सेप्टेम्बर महिनामा प्रशिक्षक एडेनर लियोनार्दो बाच्ची ‘टेट’ ले नेमारलाई स्थायी कप्तानको रुपमा छनौट गरेका थिए । हाल उनले उक्त निर्णयमा पुनर्विचार गर्दै ३६ वर्षिए डानीलाई कप्तानी दिएको बताइन्छ ।

नेमार र टेट बिचको सल्लाह बमोजिम कप्तानी परिवर्तनको निर्णय भएको ब्राजिल फुटबल महासंघले सोमबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

विश्व फुटबलमा महँगा खेलाडी बनेका नेमारले फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) को लागि अपेक्षाकृत प्रदर्शन गर्न सकेका छैनन् । पीएसजीका प्रशिक्षक थोमस टुचेलले पनि नेमारले क्लबको कप्तानी गर्न सक्ने सम्भावना नकारेका थिए ।

नेमारले यस सिजनमा क्लबको लागि २३ गोल गरिसकेका छन् । तथापी उनले खुट्टाको चोटको कारण धेरै समय मैदान बाहिरनै बिताउनु परेको थियो । पछिल्लो समय समर्थकलाई मुक्का हिर्काएकाले नेमार तीन खलेको प्रतिबन्धमा पनि परेका छन् ।

आठ पटक कोपा अमेरिकाको उपाधि जितिसकेको ब्राजिल सन् २०१६ को प्रदर्शनका कारण दबावमा रहेको छ । उक्त प्रतियोगितामा नकआउट चरणबाटै बाहिरिएको ब्राजिलले गत वर्षको विश्वकपमा पनि क्वार्टरफाइनल भन्दा अघि बढ्न सकेको थिएन ।

विश्वकप विशेषगरी नेमारमाथी बढि अपेक्षा राखेका कारण पनि उनले व्यक्तिगत प्रदर्शनलाई माथी उठाउन नसकेको विश्लेषण त्यसबेला गरिएको थियो ।

ब्राजिलले प्रतियोगिताको सुरुवात आगामी जुन १४ मा बोलिभियासँग खेल्दै गर्ने तालिका रहेको छ ।