ब्राजिलको अर्जेन्टिनामाथि जित; फाइनल प्रबेश

काेपा अमेरिकाको सेमिफाइनल खेलमा अर्जेन्टिनाविरुद्ध ब्राजिलले २–० काे जित निकालेको छ।

ब्राजिलका राेबर्टो फिर्मिन्होले ७१औं मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारेका हुन्। गाब्रियल जेजसको पासलाई ट्यापइन गर्दै गोलमा परिणत गरेका हुन्।

यसअघि घरेलु टाेली ब्राजिलका लागि खेलकाे १९औं मिनेटमा गाब्रियल जेजसले गाेल गर्दै अग्रता दिलाएका थिए। उनले रोबर्टो फिर्मिन्होकाे क्रसलाई जाली चुमाएका थिए।

यसअघि ५६औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले प्रहार गोल पोस्टमा लागेर फर्केको थियो। त्यस्तै ६६औं मिनेटमा मेसीको फ्रि–किकलाई ब्राजिलका गोलकिपरले बचाउ गरेका थिए।

ब्राजिलले क्वार्टरफाइनलमा पाराग्वेलाई पराजित गरेर अन्तिम चारमा स्थान बनाउन सफल भएको थियाे। त्यस्तै अर्जेन्टिनाले भेनेजुएलाई पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गरेको हाे।

अब ब्राजिलले पेरु र चिलीको विजेतासँग फाइनलमा खेल्नेछ।