नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) को वरियतामा एकपछि अर्को छलाङ मारेका छन् । प्रिन्स बीडब्लुएफले मंगलबार राति सार्वजनिक गरेको नयाँ वरियतामा सातौं स्थानमा उक्लिएका हुन् ।
एक साताअघि मात्र शीर्ष १० मा रहेका प्रिन्सले वरियतामा तीन स्थान सुधार गरेका छन् । प्रिन्सले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
त्यसैले उनको वरियतामा एकपछि अर्को सुधार भएको हो । १७ बर्षीय प्रिनसले गत जनवारीमा नेपालमा सम्पन्न प्रेसिडेन्ट कप इन्टरनेशनल च्याम्पियनसीपको फाइनल पुगेका थिए । उनी फाइनलमा भारतका मिराओ लुवाङसँग पराजित भएका थिए ।
प्रिन्सले भर्खरै जर्मनीमा सम्पन्न जुनियर इन्टरनेशनल सिरिजमा उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । जर्मनमा उनी प्रिक्वार्टरफाइनलमा पुगेर पराजित भएका थिए । त्यसअघि उनले नेदरल्याण्ड्समा पनि अर्को सिरिज खेलेका थिए । जुनियरका प्रिन्सको १० हजार चार सय अंक छ ।
शीर्ष वरियतामा फ्रान्सका क्रिस्टो पोपोभ, दोस्रो स्थानमा भारतका मिराओ लुवाङ र तेस्रो स्थानमा मलेसियाका कोक जिङ हङ छन् । प्रिन्स सिनियर वरियतामा चार सय ४५औं स्थानमा छन् । प्रिन्स बीडब्लुएफको जुनियर र सिनियर दुवैतर्फ उत्कृष्ट प्रदर्शन गर्ने एक्लो नेपाली खेलाडी हुन् ।
@Ratopati