बोरुसिया डर्टमण्डको बायर्नबिरुद्ध लज्जास्पद हार

बुन्डेस लिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले फराकिलो जित निकालेको छ ।

शनिबार राती भएको खेलमा बायर्नले बोरुसिया डर्टमण्डलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा रोबर्टो लेवान्डोस्कीको गोलबाट बायर्नले १७ औं मिनेटमा सुरुवाती अग्रता बनाएको थियो । ४७ औं मिनेटमा सेर्गी जीनाब्रीको गोलबाट बायर्नले अग्रता दोब्बर बनायो ।

पहिलो हाफमा २-० को अग्रता बनाएको बायर्नले दोस्रो हाफमा थप दुई गोल गर्यो । खेलको ७६ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८० औं मिनेमा डर्टमण्डमा माट हुमेल्सले आत्मघाती गोल गर्दै बायर्न ४-० ले विजयी भयो ।

जितसँगै बायर्नले ११ खेलबाट २१ अंक जोडेको छ । र, बायर्न लिगको तेस्रो स्थानमा उक्लिएको छ । पाँचौं स्थानको डर्टमण्डको १९ अंक रहेको छ ।