बेल सबै पोजिसनबाट खेल्न सक्छ:- सोलारी

 रियल मेड्रिडका अन्तरिम म्यानेजर सान्टियागो सोलारीले वेल्श विंगर गारेथ बेल भर्सटाइल खेलाडी रहेको र उनको यो खुबी नै क्लबको मुख्य हतियार भएको बताएका छन् । स्मरणीय छ कि गत साता च्याम्पियन्स लिगतपर्फ भिक्टोरिया पिल्जन विरुद्ध बेलले एक गोल गर्नुका साथै एक एसिस्ट समेत गरेका थिए ।

विचारणीय कुरा त सेप्टेम्बर पश्चात् रियलका लागि बेलको यो पहिलो गोल समेत थियो । फोर फोर टु का अनुसार बेललाई क्लबमा एउटा निश्चित भूमिकाका लागि संघर्ष गरिरहेको बताइएको छ । पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले बर्नबेयु छोडेर पनि बेलले रियलमा आफ्नो स्टारडम पाउन सकिरहेका छैनन् ।

तर म्यानेजर सोलारीका अनुसार बेलको फरक–फरक भूमिकामा खेल्ने क्षमताले नै क्लबमा उनलाई एक छुट्टै विशेष खेलाडीका रुपमा उभ्याएको छ । एक पत्रकार सम्मेलनमा बोल्दै सोलारीले भने, “म बेललाई हरेक स्थानमा मन पराउँछु । उनीसँग लेफ्ट, राईट, सेन्टर फरवार्ड, मिडफिल्डर वा लेफ्ट साईडमा खेल्ने क्षमता छ । उनले केवल मैदानमा शानदार प्रदर्शन गर्नुपर्छ । जुन उनले पिल्जन विरुद्ध गरेका थिए । त्यो एउटा उत्कृष्ट गेम थियो ।”