बेल प्रति जिदानको व्यवहार अपमानजनक

बेलका एजेन्ट जोनाथन बार्नेटले रियल म्याड्रिडका प्रशिक्षक जिदानले बेलको बिरुद्ध अपमानजनक टिपप्णीहरु गरेको आरोप लगाएका छन्। बेल हालै क्लब छोड्ने प्रक्रियामा छन् र उनि धेरै जस्तो रियलको बेञ्चमै हुने गर्दा छन्।

प्रि सिजनका लागि अमेरिका भ्रमणमा रहेको रियलका प्रशिक्षक जिदानले पत्रकार सम्मेलनमा बेलले चाडै क्लब छाडिसक्ने बताएका थिए । बार्नेटले क्लबसँगको सम्झौताका आधारमा बेलले क्लब छाड्ने प्रष्ट पार्दै जिदानले धकेलेका आधारमा नछाडिने बताएका छन् । उनले बेल अहिले पनि विश्वका उत्कृष्ट खेलाडी मध्ये एक भएको बताएका छन् ।

‘ रियलका लागि त्यत्तिको योगदान गरेको खेलाडीका लागि जिदानले अपमानजनक रुपमा बोलेका छन् । कसरी र कहिले क्लब छाड्ने भने बेलको विषय हो । यसमा जिदानले दबाब दिन मिल्दैन,’ एजेन्ट बार्नेटले भने,‘ बेल अहिले पनि विश्वका उत्कृष्ट खेलाडी मध्ये एक हुन् । बजारका हिसाबमा उनी शीर्ष ५ खेलाडीमा पर्दछन् । उनी भविष्यमा पनि ठूलो क्लबमा जानेछन् ।’

बेलका विषयमा जिदानले भने आफ्नो धारणा परिवर्तन गर्ने सम्भावन कम छ । तर, पारिश्रमिकका कारण बेललाई किन्नका लागि ठूलो आर्थिक भार पर्नेछ । कतिपयले उनी चीनको क्लबमा आबद्ध हुने वा पेरिस सेन्ट जर्मेन (पिएसजी) जान सक्ने अनुमान गरेका छन् । पिएसजी आफै पनि नेयमारका विषयमा अलमलमा छ । बेल र नेयमार सट्टा गर्ने विषयमा पनि चर्चा हुन सक्ने अनुमान गरिएको छ ।