बेल्जियमलाई हराउँदै स्विटजरल्याण्ड सेमिफाईनलमा

युइएफए नेसन्ल लिग फुटबलमा बेल्जियमले स्वीट्जरल्यान्डसँग लज्जास्पद हार बेहोरेको छ । शुरुवातमा २–० को अग्रता लिएर पनि बेल्जियमले स्वीट्जरल्यान्डसँग ५–२ को लज्जास्पद हार बेहोरेको हो ।स्वीट्जरल्यान्डको जितमा हरिस सेफेरोभिचले ह्याट्रिक पूरा गर्दा रिकार्डाे रोड्रिग्वेज र निको एल्भेडीले समान १ गोल गरे । बेल्जियमका थोर्गन हाजार्डले दुवै गोल गरे । घरेलु टोलीविरुद्ध बेल्जियमले थोर्गनको गोलबाट दोस्रो मिनेटमा नै अग्रता बनाएको थियो | १७ औं मिनेटमा थोर्गनकै गोलमा बेल्जियमले २–० को अग्रता बनाएको थियो ।

२–० ले पछि परेपछि घरेलु टोलीले उत्कृष्ट खेल पस्कदै गोल गर्न सफल भयो । रिकार्डाेले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्कने संकेत दिएका थिए । ३१औं मिनेटमा हरिसले जेद्रान शाकिरीको पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएका थिए । ४४औं मिनेटमा हरिसले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेपछि स्वीट्जरल्यान्डले पहिलो हाफमा ३–२ को अग्रता लिन सफल भएको थियो ।

६२औं मिनेटमा निकोले जेद्रानकै पासमा गोल गरेपछि स्वीट्जरल्यान्डले खेलमा ४–२ को अग्रता बनायो । ८४औं मिनेटमा हरिसले ह्याट्रिक पुरा गर्दै स्वीट्जरल्यान्डलाई ५–२ को शानदार जित दिलाए ।

जितपछि स्वीट्जरल्यान्ड लिग ए को समूह २ बाट समूह विजेताको रुपमा नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । हारले गर्दा बेल्जियम भने अगाडि पुग्न सकेन । दुवै टोलीको ४ खेलबाट ९ अंक रहेको थियो । अंक जोड्न नसकेको आइसल्यान्ड रेलिगेसनमा परेको छ ।