बेल्जियमबिरुद्ध इंग्ल्यान्डको उत्कृष्ट पुनरागमन जित

नेसन्स लिग फुटबलमा इंग्ल्यान्डले बलियो प्रतिद्वन्दी बेल्जियमलाई पराजित गरेको छ ।

वेम्बली स्टेडियममा आइतबार राति भएको खेलमा इंग्ल्यान्डले बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर इंग्ल्यान्डले जित निकालेको हो । इंग्ल्यान्डको जितमा मार्कस रासफोर्ड र मासन माउन्टले एक एक गोल गरे ।

बेल्जियमका रोमेरो लुकाकुले एक गोल फर्काए ।

 

खेलमा सुरुवाती अग्रता भने बेल्जियमले बनाएको थियो । खेलको १६ औं मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

इंग्ल्यान्डका एरिकले आफ्नो पेनाल्टी क्षेत्रमा लुकाकुलाई फउल गरेपछि बेल्जियमले पेनाल्टी पाएको थियो ।

तर, खेलको ३९ औं मिनेटमा रासफोर्डले पेनाल्टीमा गोल गर्दै इंग्ल्यान्डलाई खेलमा फर्काए । बेल्जियमका थोमसले जोर्डन हेन्डरसनलाई फउल गरेपछि इंग्ल्यान्डले पेनाल्टी पाएको थियो ।

त्यसपछि खेलको ८५ औं मिनेटमा माउन्टले गोल गर्दै इंग्ल्यान्डलाई २-१ को जित दिलाए ।

 

जितसँगै इंग्ल्यान्ड लिग ‘ए’ समूह २ को शीर्ष स्थानमा उक्लिएको छ । इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेको छ ।

बेल्जियमको यो पहिलो हार हो । दोस्रो स्थानको बेल्जियमले २ खेलमा ६ अंक जोडेको छ ।