बेल्जियमको महत्त्वपूर्ण जित, सेमिफाइनलमा स्थान पक्का

समूह चरणको अन्तिम खेलमा बुधबार राति डेनमार्कलाई ४-२ गोल अन्तरले पराजित गर्दै बेल्जियमले नेसन्स लिगको अन्तिम चारमा स्थान बनाएको हो ।

रोमेलु लुकाकुले दुई गोल गरेपछि बेल्जियमले डेनमार्कलाई सहजै हराएको हो ।

घरेलु मैदानमा युरी टेलिमान्सले तेस्रो मिनेटमै गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए ।

तर, खेलको १७ औं मिनेटमा डेनमार्कका जोनास विन्डले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

खेलको ५६ औं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई २-१ को अग्रता दिलाए ।

९६ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दा बेल्जियम ३-१ ले अघि रह्यो ।

खेलको ८६ औं मिनेटमा बेल्जियममा नासिर चाड्लीले आत्मघाती गोल गर्दा खेल ३-२ को अवस्थामा पुग्यो ।

त्यसपछि खेलको ८७ औं मिनेटमा केभिन डी ब्रुएनले गोल गर्दै बेल्जियमलाई ४-२ को जित दिलाए ।

जितसँगै लिग ‘ए’ को समूह बीको बेल्जियमले ६ खेलमा १५ अंक जोडेर प्रतियोगिताको अर्को चरणमा स्थान बनाएको हो ।

बेल्जियमले अब फाइनल्स चरणमा फ्रान्स, इटाली र स्पेनसँग खेल्नेछ । फाइनल्स चरणका खेल २०२१ को अक्टोबरमा हुनेछ ।

डेनमार्क भने ६ खेलमा १० अंक जोडेर दोस्रो स्थानमा रह्यो ।