बेलारुसमाथी बेल्जियमको फराकिलो जित

एजेन्सी, फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटको तेस्रो खेलमा बेल्जियमले फराकिलो जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा बेल्जियमले बेलारुसलाई ८-० गोल अन्तरले पराजित गरेको हो ।

बेल्जियमको जितमा लिन्ड्रो ट्रोसार्ड र हान्स भनाकेनले दुई दुई गोल गरे ।

यस्तै मिची बात्सुआई, जेर्मी डोकु, डेनिस प्रयट र क्रिस्टियन बेन्टेकेले एक एक गोल गरे ।

बेल्जियमले घरेलु मैदानमा दुबै हाफमा चार चार गोल गरेको थियो ।

खेलको १४ औं मिनेटमा बात्सुआईको गोलमा अग्रता बनाएको बेल्जियमले १७ औं मिनेटमा हान्सको गोलमा अग्रता दोब्बर बनायो ।

खेलको ३८ औं मिनेटमा लिन्ड्रोले गोल गर्दै टिमलाई ३-० को अग्रता दिलाए ।

डोकुले ४२ औं मिनेटमा गोल गरेपछि बेल्जियमले पहिलो हाफमा ४-० को अग्रता बनायो ।

दोस्रो हाफमा समेत बेल्जियमले गोल गर्ने क्रमलाई निरन्तरता दियो ।

खेलको ४९ औं मिनेटमा डेनिसले गोल गर्दा बेल्जियम ५-० ले अघि रह्यो ।

खेलको ७० औं मिनेटमा बेन्टेकेले गोल गर्दै बेल्जियमलाई ६-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७६ औं मिनेटमा लिन्ड्रो र ८९ औं मिनेटमा हान्सले व्यक्तिगत दोस्रो गोल पूरा गर्दा बेल्जियम ८-० ले विजयी भयो ।

यस जितसँगै बेल्जियमले ३ खेलमा ७ अंक जोडेको छ ।

समूह ‘ई’ को बेल्जियम शीर्ष स्थानमा रहेको छ ।

२ खेलमा ३ अंक जोडेको बेलारुस चौंथो स्थानमा रहेको छ ।