बेलले आफू उत्कृष्ट रहेको प्रमाणित गर्नु पर्छ: प्रशिक्षक जिदान

ग्यारेथ बेल यो सिजन स्पेनिस क्लब रियल मड्रिडमै रहने निश्चित भएको छ। प्रशिक्षक जिनेदिन जिदान उनलाई क्लब बाहिर गर्न चाहन्थे तर चिनियाँ क्लबसँगको सम्झौता अन्तिम चरणमा पुगेका बेला क्लबका अध्यक्षले रोकेका थिए।

बेलले आफू उत्कृष्ट रहेको प्रमाणित गर्नु पर्ने प्रशिक्षक जिदानले बताएका छन् । जिदानले भनेका छन्, ‘बेलले आफू अझै पनि उत्कृष्ट रहेको प्रमाणित गर्नु पर्छ ।’

स्पेनिस ला लिगा अन्तर्गत सिजनको पहिलो खेलमा बेल टिममा परे र राम्रो प्रदर्शन गरेका थिए । त्यो खेलमा रियल मड्रिडले सेल्टा डी भिगोलाई ३/१ ले हराएको थियो।

सो खेलमा बेलको समग्र प्रदर्शनबाट आफू प्रभावित भएको जिदानले बताएका छन्। तर त्यो क्रम स्थायी हो या तत्कालीक मात्रै भन्ने हेर्न बाँकी रहेको उनको संकेत छ।

जिदानले भनेका छन्, ‘महत्वपूर्ण कुरा उनी क्लबमै रहन चाहन्छन् । उनका बारेमा धेरै भनियो, मैले नै पनि कति कुरा गरेँ, तर उनी अब यहिँ रहन्छन् । उनी उत्कृष्ट खेलाडी हुन् । उनले यो कुरा यसअघि देखाइसकेका छन् र अब पुनः देखाउनु पर्ने भएको छ ।’