बेन्जिमाको ह्याट्रिकमा रियाल मड्रिडको उत्कृष्ट जित

करिम बेन्जिमाको ह्याट्रिकपमा रियाल मड्रिडले टर्कीको फेनरबाच एसकेलाई ५-३ गोलको नतिजामा पराजित गदैं औडी कपको तेस्रो स्थान हासिल गरेको छ।

बुधबार राति जर्मनीको एलिनाज एरेनामा भएको खेलको छैटौं मिनेटमा गेरी रोडरिग्वेजले गोल गर्दै फेनरबाचलाई अग्रता दिलाएका थिए।

त्यसको ६ मिनेट बित्न नपाउँदै बेन्जिमाले गोल गर्दै रियाललाई बराबरीमा फर्काएका थिए। २७औं मिनेटमा दोस्रो गोल गर्दै बेन्जिमाले टोलीलाई २-१ को अग्रता दिलाए।

३४औं मिनेटमा नबिल दिरारले फेनरबाचका लागि बराबरी गोल फर्काएपछि पहिलो हाफको खेल २-२ गोलको बराबरीमा टुङ्गिएको थियो।

५३औं मिनेटमा बेन्जिमाले ह्याट्रिक पूरा गर्दै रियाललाई पुन: अग्रता दिलाएका थिए। त्यसको ६ मिनेटपछि फेनरबाचका ओजान तुफानले गोल गर्दै खेल बराबरीमा ल्याए।

६२औं मिनेटमा नाचोको गोलबाट ४-३ को अग्रता बनाएको रियालका लागि ७९औं मिनेटमा मारियानो डियाजले पाँचौ तथा अन्तिम गोल गरे।

मंगलबार राति भएको सेमिफाइनलमा रियाल मड्रिड टोटेनह्यामसँग पराजित भएको थियो। त्यस्तै फेनरबाचले बार्यन म्युनिखसँगको खेलमा हार बेहोरेको थियो।

रियालले अर्को खेल आगामी बुधबार रेडबुल साल्जबर्गसँग खेल्ने छ।