बेन्जिमाको गोलमा रियल विजय

एजेन्सी, स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले जित निकालेको छ ।

शनिबार राति भएको खेलमा रियलले इल्चेलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा करिम बेन्जिमा चम्किएपछि रियलले पुनरागमन जित निकालेको हो ।

खेलको ६१ औं मिनेटमा डानी काल्भोले गोल गर्दै इल्चेलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ७३ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको इन्जुरी समयमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-१ को जित दिलाए ।

जितसँगै रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

रियलले २७ खेलमा ५७ अंक जोडेको छ ।

पराजित इल्चे २४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।