बुफोन रोनाल्डोसँग खेल्न युभेन्टस फर्किने

गए सिजनको अन्त्यतिर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छोडेका गोलकिपर जियानलुइजी बुफोनले इटालियन क्लब युभेन्टस फर्कने भएका छन् । ४१ वर्षीय बुफोनले युभेन्टससँग एक सिजनका लागि सम्झौता गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

‘टुटो स्पोर्ट्सका अन्सार युभेन्टस र बुफोनबीच सन् २०१९–२० का लागि सम्झौता हुन लागेको छ । पीएसजीले सम्झौता नविकरणको प्रस्ताव राखेपनि अस्वीकार गर्दै क्लब छोडेका उनले अबको एक सिजन मात्र युभेन्टसलाई दिनेछन् । र, खेल जीवनबाट सन्यास लिने बताइएको छ ।

इटालीका पूर्वकप्तान तथा गोलकिपर रहेका बुफोन गत वर्ष जुलाईमा इटालियन क्लब युभेन्टसबाट पीएसजीमा आवद्ध भएका थिए । पीएसजीबाट बुफोनले सन् २०१८–१९ को सिजन २५ खेल खेलेका थिए । यसदौरान उनले ९ क्लिन सिट राखे । जसमा दुई उपाधि समेत छन् ।

बुफोनले एक कार्यक्रममा नै आफू स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोसँग खेल्न चाहेको बताएका थिए । आफूले युभेन्टस छोडेपछि रोनाल्डो इटाली आएको उनले बताएका थिए ।