बुन्डेसलिगाका स्टार मिडफिल्डर साइन गर्ने दाउमा लिभरपुल

बोरुसिया मोन्चेग्लाग्बाका मिडफिल्डर डेनिस जकारिया साइन गर्न लिभरपुल इच्छुक रहेको जर्मन समाचार पत्र बिल्डले जनाएको छ। खबर अनुसार स्विजरल्याण्डका स्टार मिडफिल्डर साइन गर्न लिभरपुल इच्छुक रहेको छ।

डेनिस जकारियाले मोन्चेग्लाग्बासँग सम्झौता विस्तार गरेका छैनन् र उनलाई फ्री एजेन्टको रूपमा क्लब छोड्न दिने भन्दा आउँदो गर्मीको ट्रान्सफर विन्डोमा बेच्ने क्लबको लागि फाइदा हुने छ।

लिभरपुलको यो सिजन केही खराब फम रहेको छ भने अर्को सिजन लिभरपुलले च्याम्पियन्स लिगको ठाउँ गुमाउने क्रममा रहेको छ। लिभरपुलका कोच क्लोप आफ्नो टिमलाई पुनः स्थापित गर्न चाहन्छन् र लिभरपुल नयाँ खेलाडीहरू साइन गर्ने क्रममा रहेको छ। खबर अनुसार हाल लिभरपुल नयाँ मिडफिल्डरको खोजीमा छ र बोरुसिया मोन्चेग्लाग्बाका मिडफिल्डर डेनिस जकारिया लिभरपुलको नजरमा रहेको छ।

उनको लागि बोरुसिया मोन्चेग्लाग्बाले £१८ मिलियन माग्न सक्ने खबर छ। हाल लिभरपुल ५७ अङ्कको साथ लिगको छैटौँ स्थानमा रहेको छ।

अर्को सिजनको लागि टिम सुधार गर्न अहिले देखि खेलाडीहरू साइन गर्ने योजनामा क्लोप रहेका छन्।