बुढासुब्बा गोल्डकपमा ‘भीएआर’ प्रयोगको तयारी

बुढासुब्बा गोल्डकपको २२ संस्करणलाई विवादरहित बनाउन आयोजक धरान फुटबल क्लबले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) प्रविधि प्रयोगमा ल्याउने भएको छ । भीएआर प्रविधिको प्रयोग नेपालमा पहिलोसपटक हुँदै छ ।

क्लबका महासचिव प्रताप तामाङका अनुसार बुढासुव्वा गोल्डकपमा यसपटक गोललाइन (पोस्ट) लाई बढी फोकस गरेर भीएआर प्रविधि प्रयोगमा ल्याउन लागिएको हो।

उनले कतिपय अवस्थमा रेफ्री र लाइन्समेनले गोल भए नभएको, फउल भए नभएको देख्न नसक्ने भएकाले भीएआर प्रविधिले देखाउने बताए। तामाङका अनुसार लाइभमा रिप्लेको दृश्य स्क्रीनमा देखाउन निकै खर्च लाग्छ। त्यसैले लाइभमा रिप्ले नगर्ने गरी भीएआर प्रविधि प्रयोग गर्ने उनले जनाए।

विवाद भएको वा टिमले अपिल गरेको अवस्थामा खिचिएको भिडियोको कटिङलाई कम्प्युटरमा रेफ्रीले हेरेर निर्णय गर्न सक्नेछन्।

अन्तराष्ट्रिय आमन्त्रण बूढासुब्बा टुवोर्ग गोल्डकप फुटवल प्रतियोगिताको २२ औं संस्करण फागुन १० देखि फागुन १७ गतेसम्म हुनेछ। धरान रंगशालामा सञ्चालन हुने २२ औं संस्करणको आयोजक धरान फुटबल क्लबले पुरस्कार राशिमा वृद्धि गरेको जनाएको छ।

विहीबार पत्रकार सम्मेलन गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुढासुब्बा गोल्डकप फुटवल प्रतियोगितालाई ‘क’ श्रेणीमा राखेसँगै पुरस्कार राशिमा वृद्धि गरेको जनाएको छ।

उपाधि विजेताले नगद पुरस्कार १० लाख रुपैयाँ र उपविजेताले नगद ५ लाख रुपैयाँ पाउने छन्। गतबर्ष उपाधि विजेतालाई ८ लाख र उपविजेतालाई ४ लाख रुपैयाँ दिइएको थियो। प्रतियोगितामा व्यक्तिगत पुरस्कार तर्फ उत्कृष्ट खेलाडीलाई होण्डाको डिइयो स्कूटी एकथान प्रदान गरिने आयोजक क्लबले जनाएको छ।

सर्वाधिक गोलकर्तालाई नगद ३५ हजार, प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकलाई जनही नगद २५ हजार प्रदान गरिने क्लबका तामाङले बताए।

प्रतियोगितामा आठ टिम रहेका छन्। मनाङ मर्स्याङदी क्लब, मच्छिन्द्र क्लब, नेपाल पुलिस क्लब, भारतको यूके एफसी, जापान फुटबल लिग टिम, बेलबारी फुटबल क्लब, मेची नेत्रालय काकँडभित्ता फुटबल ट्रेनिङ सेन्टर र आयोजक धरान फुटबल क्लब छन्।

@Kantipur