बिग ब्यासको पहिलो ओभरमै सन्दिपले मचाए सनसनी

बिग ब्यास लिग अन्तर्गत नेपाली लेग स्पिनर सन्दिप लामिछानेले डेब्युमै गजबको बलिङ्ग गरेका छन्। लिग अन्तर्गत मेलबर्न स्टार्सले अहिले शेन वाटसनको टिम सिड्नी थन्डर्ससंग पहिलो खेल खेलीरहेको छ। खेलमा मेलबर्न टस जितेर बलिङ्ग गरिरहेको छ।

पहिलो खेलको आठौँ ओभरमा बलिङ्ग गर्न पाएका सन्दिपले एकै ओभरमा २ विकेट लिंदै लिगमा शानदार सुरुवात गराएका हुन्। आठौँ ओभरमा बलिङ्ग गर्न आएका सन्दिपले ओभरको दोश्रो बलमा २२ रन बनाएर ब्याटिंग गरिरहेका कप्तान शेन वाटसनको विकेट लिए।

बिग ब्यास डेब्युको दोश्रो बलमै विकेट लिने क्रममा वाटसनलाई सन्दिपले गुग्लि गर्दै क्याचआउट गराए। ठुलो सट हिर्काउने क्रममा उनि लंग-अनमा समातिन पुगे।

सन्दिप त्यतिमा रोकिएनन् र त्यसै ओभरमा दोश्रो विकेट लिने क्रममा अर्का क्रिजमा जमीसकेका अर्का अस्ट्रेलियन राष्ट्रिय क्रिकेटर क्यालम फर्गुसनलाई क्याच आउट गराए। फर्गुसनले सन्दिपको बललाई रोक्न रोक्न खोज्दा लिडिंग एज लागेको थियो। फर्गुसनले १५ रन बनाए।