‘बालोन डी’ओर रोनाल्डोले नै जित्छन्’

युभेन्टसका प्रशिक्षक माउरिजियो सार्रीले सन् २०१९ को बालोन डी‘ओरको उपाधि आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले नै जित्ने दाबी गरेका छन् ।

सिरी ‘ए’अन्तर्गत सासुलोसँग भिड्नुअघि प्रशिक्षक सार्रीले आफ्नो क्लबका फरवार्ड रोनाल्डोले बालोन डी‘ओर जित्ने बताएका हुन् ।

फ्रान्स फुटबल प्रदान गर्ने अवार्ड बालोन डी‘ओरको घोषणा भोलि हुँदैछ । यस अवार्डका लागि नेदरल्याण्डका स्टार खेलाडी भर्जिल भान डाइक, अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई मुख्य दाबेदारका रूपमा हेरिएको छ ।

भान डाइक सन् २०१८ को च्याम्पियन्स लिगका विजेता हुन् । उनले यसै अगस्टमा ‘यूइएफए प्लेयर अफ दि इयर’ को अवार्ड हात पारेका थिए । यस्तै रोनाल्डोले युभेन्टसलाई सिरी ‘ए’ र सुपर कोपा इटालियाको उपाधि दिलाएका छन् । यसका अलाबा रोनाल्डोले पोर्चुगललाई यूइएफए नेशन्स लिगको उपाधि पनि जिताएका छन् ।

मेस्सी अघिल्लो सिजनको ला लिगा विजेता हुन् । यसका साथै अघिल्लो सिजनको च्याम्पियन्स लिगका सर्वा्धिक गोलकर्ता मेस्सीले अघिल्लो महिना मात्र फिफाको ‘द बेस्ट मेन्स प्लेयर’को अवार्ड हात पारेका थिए । यी तीनै जनालाई दाबेदारका रूपमा हेरिएको भएपनि युभेन्टसका प्रशिक्षक सार्रीले रोनाल्डो यसको प्रमुख हकदार भएको बताए ।

फुटबल क्षेत्रमा रोनाल्डोको योगदान अतुलनीय रहेको बताउँदै उनले भने, ‘रोनाल्डो बालोन डी‘ओरका हकदार हुन् । फुटबल क्षेत्रमा रोनाल्डोको योगदान अतुलनीय छ । मेरो कामना छ कि उनैले यो अवार्ड जितुन् ।’