बालोन डी’ओर मा कुन क्लब सबैभन्दा सफल? पुरा जानकारी

फ्रान्स फुटबल म्यागजिनले १९५६ बाट वार्षिक रुपमा फुटबलको सर्वोत्कृष्ट खेलाडीलाई बालोन डी’ओर अवार्डबाट सम्मान गर्दै आएको छ। यो अहिले विश्व खेलकुदमा कुनै पनि फुटबलकर्मीले पाउने सबभन्दा प्रतिष्ठित अवार्ड हो।

१९५६ मा स्ट्यान्ली माथ्युजलाई प्रदान गरेर सुरु गएिको यो अवार्डले ६३औं संस्करणसम्मको यात्रा गर्दा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी मिलेर पछिल्लो १० वर्ष एकछत्र वर्चश्व जमाए। रोनाल्डो र मेसीको बर्चश्वलाई गत वर्ष क्रोएसियाका कप्तान लुका मोड्रिचले तोडे।

२००८ देखि २०१८ सम्म विश्व फुटबलका स्टार रोनाल्डो र मेसीले १० वर्षमा कीर्तिमानी ५/५ पटक बालोन डी’अरमा आफ्नो नाम लेखाए। ६४ औं संस्करण (२०१९) मा यो अवार्ड कसले हातमा पर्छ भनेर अहिले सर्वत्र चासोको विषय बनेको छ।

सर्वकालिन प्रतिद्वन्दी रोनाल्डो र मेसी यो अवार्डका दाबेदार मानिन्छन्। तर, गतवर्ष रियाल मड्रिडबाट च्याम्पियन्स लिग जित्नुका साथै रुसमा सम्पन्न विश्वकपमा टोलीलाई फाइनलसम्म डोर्याएका मोड्रिचले मेसी र रोनाल्डोको वर्चश्व तोडेका थिए। यो वर्ष फेरि अवार्ड रोनाल्डो र मेसीको पोल्टामा जान्छ की नयाँ खेलाडीले जित्लान भन्ने चर्चा भइरहँदा क्लबहरुबीच पनि बेग्लै प्रतिस्पर्धा छ।

विश्व फुटबलकै प्रतिष्ठित अवार्ड आफ्नै खेलाडीले जितुन भन्ने जुनै क्लबको पनि चाहना हुन्छ। त्यसैले खेलाडीसँगै क्लबहरु पनि यसको होडमा हुने नै भए। अहिलेसम्म आफ्ना खेलाडीलाई धेरै पटक बालोन डी’ ओर अवार्ड जिताउने शीर्ष ५ क्बलको यहाँ चर्चा गरिएको छ।

रियाल मड्रिड (११)

युरोपेली फुटबलको सर्वाधिक सफल क्लब रियाल मड्रिड आफ्ना खेलाडीलाई व्यक्तिगत अवार्ड जिताउनेमा पनि सफल क्लब हो। १९५७ मा एल्फ्रेडो डी स्टेफानोले रियालबाट पहिलो पटक यो बालन डी’अर जितेका थिए। १९५८ मा रियालकै रेयमन्ड कोपाले यो अवार्ड जिते। १९५९ मा पुनः स्टेफानोले दोस्रो पटक विश्वको सर्वोत्कृष्ट खेलाडीको पुरस्कारमा कब्जा जमाए।

त्यसको ४१ वर्षपछि २०००मा लुइस फिगो बालन डी’अर जित्ने रियालका खेलाडी थिए। त्यसको दुई वर्षपछि ब्राजिलियन स्टार खेलाडी रोनाल्डोले सूचीमा रियालको नाम नवीकरण गरे। २००६ मा इटालियन रक्षक फाबियो कानाभारोले यो अवार्ड जितेपछि रोनाल्डो पछिल्लो दश वर्षमा ४ पटक रियालबाट बालन डी’अर जित्न सफल भए।
११औं वर्षमा मेसी र रोनाल्डोबाहेक नयाँ खेलाडी लुका मोडरिचले यो अवार्ड जिते पनि रियालको नाम हटेन।

बार्सिलोना (११)

स्पेनिस फुटबलका चीर प्रतिद्वन्दी क्लब हुन्, रियाल मड्रिड र बार्सिलोना। क्लबको समग्र सफलतादेखि लिएर खेलाडीलाई बालन डी’अर जिताउनेमा पनि यी दुई महारथीबीच प्रतिस्पर्धा चर्को नै देखिन्छ।

केही सयमअघि क्लबको प्रशिक्षक रहेका लुइस इनरिकेले बार्सिलोनाबाट १९६० मा पहिलो पटक बालन डी’अर अवार्ड जितेका थिए। १९७३ र ७४ मा लगातार दुई वर्ष यो अवार्ड बार्सिलोनाका योहान क्रायफले हात पारे।

त्यसको २० वर्षपछि १९९४मा बुल्गेरियाका फरवार्ड रिस्टो स्टोइचकोभले बार्सिलोनाबाट अवार्ड जिते। ब्राजिलका रिभाल्डोेले १९९८ मा आफ्नो नाम लेखाउन सफल भए।
२००५ मा पहिलो पटक मेसीले यो अवार्ड जितेका थिए। त्यसपछि वर्चश्व नै कायम गरेका मेसी पाँच पटक बालन डी’अर जित्ने पहिलो खेलाडी बने।

युभेन्टस (८)

इटालियन महारथी युभेन्टसका सात खेलाडीले ८ पटक बालन डी‘अर जितेका छन्। १९६१ मा ओभर सिभोरीले पहिलो पटक जितेका थिए। त्यसपछि युभेन्टसका खेलाडीले यो अवार्ड दोस्रो पटक जित्नका लागि २१ वर्ष कुर्नुपर्यो।

१९८२ मा पाउलो रोसी दोस्रो बालोन डी’अर जित्ने खेलाडी बनेका थिए भने, मिचेल प्लाटिनीले १९८३ देखि १९८५ सम्म लगातर तीन पटक यो अवार्ड जिते।

त्यसको ७ वर्षपछि रोबर्टो बाजियोले १९९३ मा बालोन डी’अर जिते। १९९८ मा यो अवार्ड जिनेदिन जिदानले जिते। २००३ मा बालोन डी’अर जितेका पावेल नेडभेड युभेन्टसबाट यो अवार्ड जित्ने पछिल्लो खेलाडी हुन्।

४. एसी मिलान (८)

१९६९ मा पहिलो पटक एसी मिलानबाट जियानी रिभेराले बालन डी’अर अवार्ड जितेका थिए। त्यसको १८ वर्षपछि १९८७ मा रुड गुलिट यो अवार्ड जित्न सफल रहे।

त्यसपछि १९८८, ८९ र ९२ मा यो अवार्ड मार्को भान बास्टेनले आफ्नो पोल्टामा पारे। त्यसको ३ वर्षपछि १९९५ मा जर्ज वेह र २००४ आन्द्रेई सेभचेन्कोले जितेका थिए। २००८ मा ब्राजिलका फरवार्ड काका मिलानबाट बालन डी’अर जित्ने पछिल्ला खेलाडी हुन्।

बार्यन म्युनिख (५)

सर्वाधिक बालन डी’अर जित्ने सूचीको पाँचौ स्थानमा रहेको जर्मन महारथी बार्यन म्युनिखका लागि ग्रेड मुलरले १९७० मा पहिलो पटक यो सफलता हासिल गरेका थिए।
त्यसपछि १९७२ मा बार्यनका लागि दोस्रो बालन डी’अर जितेका फ्रान्ज बेकेनबाउरले दोस्रो पटक १९७६ मा पनि यो अवार्ड जिते।

त्यसपछि १९८० र ८१ मा लगातार दुई पटक यो अवार्ड जितेका कार्ल–हेइन्ज रुमिङगे बार्यनबाट बालन डी’अर जित्ने पछिल्ला खेलाडी हुन्।