‘बालोन डि’ओर रोनाल्डोले नै जित्छ’

पोर्चुगिज फुटबलको राष्ट्रिय टोलीका म्यानेजर फर्नान्डो सान्तोषले यस वर्षको बालोन डि‘ओर अवार्ड क्रिस्टियानो रोनाल्डोले जित्ने दाबी गरेका छन् । उनले आफ्नो टोलीका स्थायी कप्तानसमेत रहेका रोनाल्डो यसपटक बालोन डि‘ओर अवार्डका लागि सबैभन्दा सक्षम दाबेदार रहेको बताएका हुन् ।

पोर्चुगलले शनिबार राति युएफए नेसन्स लिग फुटबलमा इटालीसँग उसकै घरमा खेल्दैछ । सो खेलअघि सञ्चारमाध्यमसँग कुरा गर्दै सान्तोषले यस्तो दाबी गरेका हुन् । ‘यसपटक रोनाल्डोले बालोन डि‘ओर जित्ने सम्भावना कत्तिको छ’ भनेर सोधिएको प्रश्नमा उनले रोनाल्डो सो अवार्डका लागि पहिलो दाबेदार रहेको बताएका हुन् ।

‘मैले पहिला पनि भनेको छु कि, यसपटक बालोन डि‘ओरका लागि थुप्रै खेलाडी अगाडि छन् । तर, रोनाल्डो तीमध्ये सबैभन्दा बलिया दाबेदार हुन्,’ सान्ताषले भने ।

सान्तोषले रोनालडोले गत वर्ष आफ्नो क्लब, देश र रसिया विश्वकपमा पनि व्यक्तिगत रूपमा उच्च प्रदर्शन गरेको बताउँदै बालोन डि‘ओर जित्न उनले गर्नुपर्ने सबैथोक गरेको बताए । ‘गत सिजन रोनाल्डोले युरोपियन फुटबलमा भव्य सफलता पाए, राष्ट्रिय टिममा पनि उनको योगदान उस्तै रह्यो,’ सान्तोषले भने, ‘रसिया विश्वकपमा व्यक्तिगत रूपमा हेर्ने हो भने उनले उच्च प्रदर्शन गरे ।’