बालोन डि’ओरको ताजा ‘रर्याङकिङ’ सार्वजनिक

बालोन डि’ओर कसले जित्ला भन्ने चर्को अड्कलबाजी र चर्चा सुरु हुन थालेका छन् । यसपटक मुख्य दाबेदारको रूपमा नेदरल्यान्ड्सका डिफेन्डर भर्जिल भान डाइक, अर्जेन्टिनाका लिओनल मेस्सी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, पोर्चुगलकै बर्नान्डो सिल्भा, इजिप्टका मोहमद सालाह र सेनेगलका साडियो रहेका छन् ।

सिजन २०१८/१९ र २०१९ को यहाँसम्मको अवधिको प्रदर्शनलाई हेरेर बालोन डि‘ओरका दाबेदार १० खेलाडीको सूची ‘रर्याङकिङ’ सार्वजनिक गरेको छ । जसमा इंग्लिस क्लब लिभरपुलका भान डाइक अगाडि छन् ।

युरोपियन च्याम्पियन्स लिगमा लिभरपुललाई च्याम्पियन बनाउन महत्त्वपूर्ण योगदान दिएका भान डाइकलाई स्पेनिस बार्सिलोनाका लिओनल मेस्सीभन्दा पनि बलियो दाबेदार मानिएको छ ।

भर्खरै सकिएको सिजनमा मेस्सीले व्यक्तिगत रूपमा शानदार सिजन बिताउँदै ५१ गोल गरे पनि च्याम्पियन्स लिगमा बार्सिलोनाले भोगेको असफलताका कारण मेस्सीलाई ठूलो झट्का लाग्ने देखिएको छ ।

किनभने, विगत वर्षका रेकर्ड हेर्दा पनि बालोन डि’ओर अवार्डका लागि प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिता र च्याम्पियन्स लिगको प्रदर्शन र उपाधिलाई नै मुख्य आधार मान्ने गरिएको छ । त्यसैले सन् २०१९ मा मेस्सीले व्यक्तिगत रूपमा बार्सिलोनाबाट उच्च प्रदर्शन गर्दै ५१ गोल र १९ गोलका लागि असिस्ट गरे पनि च्याम्पियन्स लिगमा असफल भएपछि उनले बालोन डि’ओर जित्ने सम्भावनामा झट्का लागेको छ ।

तर, आजको ३ दिनपछि ब्राजिलमा सुरु हुने कोपा अमेरिका फुटबलमा मेस्सीले लयमा प्रदर्शन गर्दै अर्जेन्टिनालाई उपाधि जिताउन सकेको खण्डमा पनि उनी स्पष्ट रूपमा बालोन डि’ओरको नम्बर वान दाबेदार बन्नेछन् । तर, अर्जेन्टिनालाई धेरैले कोपाको दाबेदार टिम मानेका छैनन् ।

२ दिनअघि भएको युइएफए नेसन्स लिग फुटबलमा नेदरल्यान्ड्सलाई हराउँदै पोर्चुगललाई उपाधि जिताएपछि रोनाल्डोलाई पनि दाबेदारका रूपमा हेरिएको छ । हाल बालोन डि’ओरका दाबदार खेलाडीमध्ये धेरै उपाधि जित्नेमा रोनाल्डो र पोर्चुगलकै बर्नान्डो सिल्भा रहेका छन् ।

सार्वजनिक ‘रर्याङकिङ’ टप १० खेलाडी :

भर्जिल भान डाइक – लिभरपुल

लिओनल मेस्सी – बार्सिलोना

बर्नान्डो सिल्भा – म्यानचेस्टर सिटी

साडियो माने – लिभरपुल

एलिसन बेकर – लिभरपुल

रहिम स्ट्रलिङ – म्यानचेस्टर सिटी

मोहमद सालाह – लिभरपुल

क्रिस्टियानो रोनाल्डो – युभेन्टस

इडेन हाजार्ड – रियल म्याड्रीड

केलियन एमबाप्पे – पिएसजी