बालोटेली फेरी इटालियन क्लबमा फर्किए

यो सिजन केहि समय क्लब विहीन बनेका इटालियन स्टार मारियो बालोटेली फेरी इटालियन क्लबमा फर्किने भएका छन्न उनि केहि समय फ्री एजेन्ट भए पनि उनले अहिले नयाँ क्लब पाएका छन् । नयाँ क्लबका रुपमा उनले आफ्नै घरेलु टिम ब्रेसिया पाएका हुन् । स्मरणीय छ, ब्रेसिया यसै सिजन इटालियन सिरि ए मा बढुवा भएको हो ।

गत सिजन फ्रेन्च क्लब मार्सेलीमा बिताएका २९ बर्षिय बालोटेलीलाई फ्रेन्च क्लबले सिजनको समापनसँगै अनुबन्ध फुकुवा गरेको थियो । बालोटेलीको यो नयाँ क्लब उनकै गृह नगरको क्लब समेत हो । स्रोतका अनुसार बालोटेलीले ब्रेसियासँग तीन बर्षका लागि सम्झौता गरेका छन् ।

रिपोर्टअनुसार बालोटेलीले यसअघि चर्चित ब्राजिलियन क्लब फ्लेमेंगोको प्रस्ताव अस्वीकार गरेको बताइएको छ । भनिन्छ, उनी सन् २०२० को युरोका लागि इटालीको राष्ट्रिय टोलीमा फर्कन चाहन्छन्, त्यसैले पनि उनले ब्राजिलियन क्लबको प्रस्ताव अस्वीकार गरेको बताइन्छ ।

इटालीको राष्ट्रिय जर्सीमा ३६ अन्तर्राष्ट्रिय म्याच खेलिसकेका बालोटेली गत सेप्टेम्बरदेखि राष्ट्रिय टोलीमा देखिएका छैनन् । उता गत सिजन इटालियन सिरि बी जितेको ब्रेसिया सन् २०११ पछि पहिलोपटक इटालीको टप फ्लाईट फुटबल खेल्ने तयारीमा छ ।

त्यस्तै बालोटेलीले अन्तिमपटक सन् २०१६ मा इटालियन सिरि ए खेलेका थिए । त्यतिबेला उनी लिभरपुलबाट लोनमा एसी मिलान आएका थिए । जहाँ उनले एक सिजन लामो इटालीमा बिताएका थिए ।