बालोटेली टर्की तर्फ

मारियो बालोटेली टर्किस क्लब एडाना डिमिरस्परमा अनुबन्धित भएका छन् । बालोटेली फ्रि एजेन्टमार्फत टर्किस क्लब एडानामा अनुबन्धित भएका हुन् ।

उनले टर्किस क्लबसँग ३ वर्षको सम्झौता गरेका छन् । ३० वर्षीय फरवार्ड यो सिजनको अन्त्यसँगै इटालियन सिरी ‘बी’ क्लब मोन्जाबाट स्वतन्त्र बनेका थिए । उनी ६ महिनाका लागि मोन्जामा आबद्ध भएका थिए । तर, टोली यो सिजन पनि शीर्ष डिभिजनमा उक्लन सकेन ।

इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुलका पुर्व फरवार्ड बालोटेलीको यो १०औं क्लब हो । उनले लुमिजाने, इन्टर मिलान, म्यानचेस्टर सिटी, एसी मिलान, लिभरपुल, निस, मार्से, ब्रेसिया र मोन्जाबाट खेलिसकेका छन् । क्लबको अफिसियल ट्वीट् ह्यान्डलबाट बालोटेलीले एडानामा अनुबन्धित भएको तस्विर सार्वजनिक भएको छ । जहाँ एजेन्ट मिना राइओला, एडानाका अफिसियलसँगै कप्तान पनि उपस्थित रहेको छ ।

क्लबले विश्व स्टार बालाटेली भनेर सम्वोधन गरेको छ । उनले क्लबसँग ३ वर्षको सम्झौता गरेको र अब उनले निलो जर्सीबाट खेल्ने उल्लेख गरेको छ । व्यवसायिक खेल करियरमा टर्की उनको चौथो राष्ट्र हो । यसअघि उनले इटाली, इंग्ल्यान्ड र फ्रान्सबाट खेलिसकेका छन् ।

डिमिरस्परका अध्यक्ष मुरात सानकले बालोटेलीको चाहाना अर्काे वर्ष कतारमा हुने विश्वकप खेल्ने रहेको बताएका छन् । अध्यक्ष मुरात सानकले बालोटेली विश्वकपकै लागि तयार हुनका लागि यहाँ आएको बताएका छन् । उत्तेजित र आक्रमक छविका बालाटेली’bout क्लबलाई पनि ज्ञान रहेको र एडानाले उनलाई व्यवस्थापन गर्न सक्ने अध्यक्ष मुरातले बताएका छन् ।

बालोटेलीले इटालीका लागि ३६ खेलमा १४ अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनले सन् २०१८ सेप्टेम्वरमा नेसन्स लिगमा पोल्यान्डविरुद्ध खेलेपछि इटालीको टोलीबाट खेल्न पाएका छैनन् ।