बालगोपाल महर्जनले साफ च्याम्पियनसिपमा कोजीको स्थान लिने

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भदौ १९ देखि बंगलादेशमा सुरु हुने साफ च्याम्पियनसिपका लागि बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

एन्फाले प्रेस विज्ञप्ति जारी गर्दै जापानी प्रशिक्षक ग्योतोकु कोजी भिसा समस्याका कारण नेपाल आउन नसक्ने भएपछि जिम्मेवारी महर्जनलाई सुम्पने निर्णय गरेको हो । आज यसैबारे निर्णय लिन एन्फामा आपतकालीन बैठक पनि बसेको थियो । बैठकले असन् साफ च्याम्पियनसिपका लागि सहायक प्रशिक्षक रहँदै आएका महार्जनलाई कार्यवाहक चुन्ने निर्णय गरेको हो ।

इन्डोनेसियामा जारी फुटबलको समूह चरणबाटै बाहिरिएको यू २३ टोली सोमबार राती स्वदेश फर्कदा कोजी साथमा फर्केका थिएनन् आएनन् । नेपालको भिसा नभएका कारण उनी नआएका हुन् । इन्डोनेसिया जानुअघि नै उनको भिसा भएको अवधि भन्दा बढी नेपाल बसेका थिए । त्यसमा एन्फाले जरिवाना तिरेको थियो । कोजी इन्डोनेसियाबाट थाइल्यान्ड गएका हुन् ।

साफ च्याम्पियनसिपका लागि नेपाली टोलीले बुधबारबाट प्रशिक्षण थालिसकेको छ । एसियाडमा सबै तीन खेल गुमाउँदै नेपाली युवा टोली स्वदेश फर्केको थियो । इन्डोनेसिया जानुअघि टोलीले थाइल्यान्डमा दुई अभ्यास खेल खेलेको थियो । जसमा सिनियर टोलीका केही खेलाडी सामेल थियो । एन्फाले साफ च्याम्पियनसिपका लागि अन्तिम नामावली सार्वजनिक गर्न बाँकी रहेको छ ।