बार्सेलोना लाई २ गोल उपहार, रोमा बिरुद्ध सहज जित

युरोपियन च्यम्पियन्स लिग फुटबलमा अन्तिम आठअन्तर्गत स्पेनिस बार्सिलोना र इटालियन क्लब रोमाबीच भएको पहिलो लेगको खेलमा बार्सिलोनाले रोमामाथि सहज जित निकालेको छ ।
बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा रोमाले लगालग आफ्नै पोस्टमा २ आत्मघाती गोल हानेपछि बार्सिलोनालाई जित निकाल्न कठिन भएन । २ गोल उपहार पाएको बार्सिलोनाले डिफेन्डर जेरार्ड पिके र लुइस स्वारेजको १-१ गोलसहित ४–१ को जित निकाल्यो ।
खेलमा सुरुबाटै प्रभाव जमाएको बार्सिलोनाले खेलको ३८औं मिनेटमा पहिलो उपहार गोल पायो । जहाँ ड्यानिले रोजीले आफ्नै पोस्टमा गोल गरिदिए । बार्सिलोनाका कप्तान आन्द्रेस इनिएस्टाले हानको क्रस पासमा बल उनको खुट्टामा लाग्दै आफ्नै पोस्टमा छिरेको थियो ।
त्यसपछि खेलको ५५औं मिनेटमा बार्सिलोनाले दोस्रो उपहार गोल पायो । जहाँ कोस्टास मानोलसले पुनः आफ्नै पोस्टमा गोल गरे । तब बार्सिलोनाले उपहार गोलको मदतमा २–० को अग्रता लियो ।
त्यसपछि खेलको ५९औं मिनेटमा बार्सिलोनाका डिफेन्डर पिकेले गोल गरे । र, बार्सिलोनालाई ३–० को अग्रता दिलाए ।
तर, खेलको ८०औं मिनेटमा रोमाले १ गोल फर्कायो । जहाँ इडेन डेज्कोले १ गोल गरे पनि टिमलाई खेलमा फर्काउन धेरै ढिला भइसकेको थियो ।
त्यसपछि खेलको ८७औं मिनेटमा स्वारेजले सिजनको पहिलो च्याम्पियन्स लिग गोल गरे । उनको गोलसँगै बार्सिलोनाले घरेलु मैदानमा रोमामाथि ४–१ को प्रभावशाली जित निकाल्यो ।