बार्सेलोनाले जित्यो कोपा डेल रे को उपाधि – सेभिल्ला माथी सान्दार जित

शनिबार राति कोपा डेल रे को फाइनल खेलमा बार्सिालोनाले सेभिल्लालाई ५–० को नमिठो हार चखाउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

उपाधि भिडन्तमा बार्सिलोनालाई फराकिलो जित दिलाउनेक्रममा स्टार लुइस स्वारेजले २ गोल गरे भने अर्का स्टार लिओनल मेस्सीले १ गोल गरे । त्यस्तै, कप्तान आन्द्रेस इनिएस्टाले १ गोल गरे भने फिलिपे कोटिन्होले पेनाल्टीबाट १ गोल गरे ।

बार्सिलोनाले सुरुबाटै एकपक्षीय बनाएको खेलमा पहिलो हाफमै ३–० को अग्रता लिएको थियो भने बाँकी २ गोल दोस्रो हाफमा गरेको हो ।

बार्सिलोनाका लागि खेलको १४औं मिनेटमा स्वारेजले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । उनले कोटिन्होको पासमा गोल गरेका थिए ।

त्यसपछि खेलको ३१औं मिनेटमा मेस्सीले बार्सिलोनाका लागि दोस्रो गोल गरे । उनले जोर्डी अल्बाको आकर्षक ब्याक पासमा गोल गरेका थिए । अल्बाको पासमा मेस्सीले हानेको कडा प्रहारले सोझै जाली चुमेको थियो ।

त्यसपछि खेलको ४०औं मिनेटमा स्वारेजले नै व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा ३–० को सहज अग्रता लिएको हो । स्वारेजले दोस्रो गोल मेस्सीको पासमा गरेका थिए ।

दोस्रो हाफमा पनि बार्सिलोना रोकिएन । जहाँ उसले २ गोल थप्यो । त्यसक्रममा खेलको ५२औं मिनेटमा कप्तान इनिएस्टाले गोल गर्दै अग्रता ४–० मा पुर्याए ।

त्यसपछि खेलको ६९औं मिनेटमा बार्सिलोनाले पेनाल्टी पायो । जहाँ पेनाल्टी हान्ने मौका कोटिन्होले पाए । उनले कुनै गल्ती नगरी बललाई जाली चुमाए । उनको गोलको मदतमा बार्सिलोनाले ५–० को स्पष्ट अग्रता लिएको थियो । त्यसपछि खेलमा कुनै गोल भएन । र, बार्सिलोनाले ५–० को फराकिलो अन्तरसहित उपाधि जित्यो ।

यससँगै बार्सिलोनाले पछिल्ला चार सिजन लगातार कोपाको उपाधि जितेको छ । त्यस्तै, उसले कोपाको इतिहासमा सर्वाधिक धेरै ३० पटक यो उपाधि जितेको छ ।

यो जितसँगै बार्सिलोनाले जारी सिजनको पहिलो उपाधि उचालेको छ । युरोपियन च्याम्पियन्स लिगमा इटालियन रोमासँग लज्जास्पद हार व्यहोर्दै अन्तिम आठबाटै प्रतियोगिताबाट बाहिरिएपछि बार्सिलोनाले यो उपाधि जितेको हो । यो जितले च्याम्पियन्स लिगमा पाएको हारको चोटमा थोरै भए पनि मल्हम लगाउने काम गरेको छ ।