बार्सिलोना संसारकै उत्कृष्ट क्लब हो र म बार्सिलोना छाडेर कतै जान्न – मेस्सी

पछिल्लोपटक एक इटालियन क्लबले बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सीलाई भित्र्याउने इच्छा देखाएको थियो । त्यसअघि पनि मेस्सीका लागि इंग्लिस क्लब म्यानचेस्टर सिटीले चाहना देखाएको थियो ।

तर, मेस्सी स्वयंले भने आफूले बार्सिलोना नछाड्ने स्पष्ट पारेका छन् । दुई दिनअघि ‘क्याटलान रेडियो’सँग कुरा गर्दै मेस्सीले आफू संसारकै उत्कृष्ट क्लबमा रहेको बताउँदै आफूलाई कतै जान पर्ने आवश्यकता नरहेको बताए । आफू बार्सिलोनामा सधैं खुसी रहेको मेस्सीको भनाइ थियो ।

लामो समयपछि मिडियामा बोल्दै मेस्सीले आफ्नो सन्यास कुन क्लबबाट हुन्छ भनेर नबताए पनि तत्काललाई बार्सिलोना आफ्नो घर रहेको बताए । ‘यो मेरो घर हो । म यहाँ खुसी छु,’ मेस्सीले भनेका छन्, ‘जब म संसारकै उत्कृष्ट क्लबमा छु भने मलाई कतै जानु छैन ।’

अर्को एक प्रसंगमा मेस्सीले यसपटक बार्सिलोनाले च्याम्पियन्स लिग जित्न कडा मेहनत गर्ने बताए । ‘हामी पछिल्ला तीन सिजन लगातार अन्तिम आठबाटै आउट भयौं । तर, यसपटक हामी कडा मेहनत गर्ने छौं,’ उनले भने, ‘आगामी वर्ष हामीलाई लिग जित्न झनै कठिन हुनेछ । किनभने, लिभरपुल, पिएसजीजस्ता क्लबले अब क्षमतावान् खेलाडीका लागि मोटो रकम खचिर्ननेछन् ।’

मेस्सीले यसपट बार्सिलोना जसरी पनि ठूला उपाधि जित्ने योजनामा रहेको बताए । ‘हामीले च्याम्पियन्स लिग नजितेको धेरै भइसक्यो । विगतको सिजन हाम्रा लागि निराशाजनक रह्यो,’ उनले भने, ‘यसपटक हामी उपाधि घरमा फर्काउन चाहन्छौं ।’