बार्सिलोना र रियलको खेल बराबरीमा रोकिए

इएल क्लासिको खेलमा बार्सिलोना र रियल मड्रिडले बराबरी खेलेका छन् । नेपाली समयअनुसार सोमबार बिहान बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेल २–२ को बराबरीमा सकिएको हो ।

खेल अवधिभर पटक–पटक तनाव सिर्जना भएको खेलमा बार्सिलोनाले दोस्रो हाफको पूरै समय १० खेलाडीमा सीमित भएर खेलेको थियो । पहिलो हाफको अन्त्यमा बार्सिलोनाका डिफेन्डर सर्जी रोवेर्टो दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेपछि बार्सिलोना पहिलो हाफमै १० खेलाडीमा सीमित भएको थियो ।

सुरुबाटै तनावपूर्ण देखिएको खेलमा अग्रता पनि घरेलु टोली बार्सिलोनाले लिएको थियो । उसका लागि खेलको १०औं मिनेटमा लुइस स्वारेजले आकर्षक गोल गरेका थिए ।
तर, बार्सिलोनाले अग्रता जोगाउन सकेन । गोल गरेको ४ मिनेटपछि नै रियलका लागि स्टार क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल बराबरी बनाए । त्यसपछि दुवै पक्षबाट गोल भएन । र, पहिलो हाफ १–१ को बराबरीमा सकियो ।

खेलको दोस्रो हाफमा सुरुबाटै तनाव र झडपका दृश्य देखिन थाले । सोहीक्रममा खेलको ५२औं मिनेटमा स्टार लिओनल मेस्सीले बार्सिलोनाका लागि गोल गरेपछि घरेलु टोलीले २–१ को अग्रता लियो ।

तर, बार्सिलोना फेरि पनि चुक्यो । खेलको ७२औं मिनेटमा रियलका लागि स्टार ग्यारेथ बेलले निकै दर्शनीय गोल गरे । र, हारतर्फ लागेको टोलीको उद्धार गरे ।

त्यसपछि दुवै टिमले पटक–पटक गोल गर्ने अवसर गुमाए पनि गोल हुन सकेन । र, खेल २–२ को बराबरीमा सकियो ।
यो बराबसिँगै लिग विजेता बार्सिलोनाले लिगमा अपराजित यात्रा कायमै राखेको छ । बार्सिलोना यो सिसजन ३५ खेलसम्म अपराजित छ ।

यस खेलको दौरान पटक–पटक रियल र बार्सिलोनाका खेलाडीबीच झडपको स्थिति आएको थियो । पहिलो हाफमा बार्सिलोनाका जोर्डी अल्बाले रियलका लुका मोड्रिकलाई भनाभनसँगै तीनपटकसम्म धक्का मार्दा तनाव सिर्जना भयो । तर, बार्सिलोनाका कप्तान आन्द्रेस इनिएस्टाले सहजीकरण गरेपछि अवस्था साम्य भयो ।

दोस्रो हाफमा बार्सिलोनाका लुइस स्वारेज र रियलका कप्तान सर्जियो रामोस तथा मार्सेलोबीच अझै हात हालाहाल भयो । जहाँ स्वारेजले रामोसलाई गाली गरेपछि मार्सेलोले आएर स्वारेजलाई जोडले धक्का मारेका थिए ।

सोक्रममा रेफ्रीले दुवै खेलाडीलाई पहेंलो कार्ड देखाएका थिए । त्यसपछि पनि खेलमा पटक–पटक सानातिना झडपका दृश्य देखिइरहे । तर, रेफ्रीले कडा रूपमा प्रस्तुत हुँदा उनले थुप्रै गम्भीर फउलमाथि पनि कुनै प्रतिक्रिया देखाएनन् ।

दोस्रो हाफमा बार्सिलोनाका खेलाडीले रियलका मार्सेलोलाई डि–एरियामा लडाएपछि रियलले जोडदार रूपमा पेनाल्टी माग गरेको थियो । सम्भवतः त्यो फउल पेनाल्टी पाउनलायक थियो । तर, रेफ्रीले त्यसमाथि कुनै एक्सन लिएनन् । उक्त फउल र रेफ्रीको निर्णयबारे खेलपछि पनि रियलका खेलाडीले आलोचना गरेका थिए ।

उक्त खेल अवधिभर बार्सिलोनाले कूल ४९ मिनेट १० खेलाडीमा सीमित भएर खेलेको थियो । उता, रियलका रोनाल्डोलाई दोस्रो हाफमै प्रतिस्थापन गर्दै एसेन्सियोलाई मैदान छिराइएको थियो ।

खेल अवधिभर बार्सिलोनाले ५१ प्रतिशत बल आफ्नो पक्षमा राखेको थियो । खेलमा कूल २८ फउल भएका थिए । जसमा २० फउल रियलका तर्फबाट भए पनि ८ फउल बार्सिलोनाका तर्फबाट भएका थिए ।

त्यस्तै, उक्त खेलमा कूल ८ पहेंलो कार्ड देखाइएको थियो । जसमा बार्सिलोनाका मेस्सीसहित तीन खेलाडीले पहेंलो कार्ड पाए भने रियलका ५ खेलाडीले पहेंलो कार्ड पाएका थिए ।
उक्त खेलमा बार्सिलोना ५ पटक अफसाइड रहँदा रियल २ पटक अफसाइड रह्यो । बार्सिलोनाका स्वारेज सबैभन्दा बढी अफसाइड रहे ।

खेलमा बार्सिलोनलो कूल ६ कर्नर प्रहार हान्यो भने रियलले ५ पटक कर्नर हानेको थियो ।

यो बराबरीपछि बार्सिलोनलो ३५ खेलबाट कूल ८७ अंक जोडेको छ । ऊ एक खेल बढी खेलेको दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा १२ अंकले अगाडि छ । त्यस्तै, बार्सिलोना समान खेल खेलेको तेस्रो स्थानको रियलभन्दा १५ अंकले अगाडि रहेको छ ।