बार्सिलोना र जिरोना बीचको खेल अमेरिकामा हुने, समर्थकलाई आवास र आर्थिक सहायता दिईने

ला लिगाले स्पेन बाहिर हुने लिग खेल हेर्न जाने समर्थकलाई आवास खर्च र आर्थिक सहायता प्रदान गर्ने भएको छ ।
ला लिगाले गत महिना अमेरिका र क्यानाडामा ला लिगाको केहि लिग खेल आयोजना गर्ने निर्णय गरेको थियो । जसका लागि ला लिगाले स्पोर्ट्स र मनोरञ्जन कम्पनि रिलिभेन्ट स्पोर्ट्ससंग १५ बर्षे सम्झौता गरेको थियो ।

स्पेनबाट अमेरिका र क्यानडा भ्रमण गर्दा खर्च बढी हुने कारण ‘होम टिकट होल्डर’ समर्थकको लागि ला लिगाले आवास खर्च र आर्थिक सहायता प्रदान गर्ने योजना बनाईरहेको बिबिसीले जनाएको छ । जसको कारण धेरै समर्थक अमेरिका र क्यानाडा जाने र खेलाडीलाई घरेलु मैदानको अनुभूति हुने बताईएको छ ।

यस्तै स्पेनिस पत्रिकाहरुले बार्सिलोनाविरुद्ध हुने जिरुनाको होम गेम अमेरिकाको मियामिमा हुने जनाएको छ । तर, ला लिगाले अधिकारिक रुपमा घोषणा गरेको छैन ।
जिरोना र बार्सिलोना बीचको खेल जनवरी २७ मा हुने स्पेनिस पत्रिका स्पोर्ट्सले उल्लेख गरेको छ । उक्त खेलको लागि १५०० फ्लाइट उपलब्ध गराउने र एक रातको लागि सम्पूर्ण खर्च समेत ला लिगाले बेहोर्ने जनाईएको छ ।

यता, स्पेनिस फुटबल फेडेरसन र स्पेनिस फुटबलर्स युनियन (एएफई) ले स्पेन बाहिर ला लिगाको लिग खेल खेलाउने ला लिगाको निर्णयप्रति आपत्ति जनाउदै आएको छ ।