बार्सिलोना यति चाँडै छाड्नलाई म आएको थिइनँ : कोउटिन्हो

बार्सिलोनाले गत जनवरी सिजनमा निकै महत्त्वकांक्षी योजनासाथ इंग्लिस क्लब लिभरपुलबाट प्ले मेकर फिलिपे कोउटिन्होलाई भित्र्यायो । बार्सिलोनाले क्लबको इतिहासमै सबैभन्दा महँगा खेलाडीका रूपमा १ सय ६२ मिलियन युरोमा कोउटिन्होलाई अनुबन्ध गरेको थियो ।

बार्सिलोनाले लिभरपुलमा ब्राजिलियन कोउटिन्होले देखाएको उच्च प्रदर्शनबाट लोभिएर आफ्नो मिडफिल्ड सुधार्न उनलाई अनुबन्ध गरेको थियो । बार्सिलोना उत्रेपछि सो वर्ष काउटिन्होले उच्च प्रदर्शन पनि गरे । उनले वर्ष २०१८ मा कूल १५ गोल गरे । उनी लिओनल मेस्सी र लुइस स्वारेजपछि तेस्रो सर्वाधिक गोलकर्ता पनि बने ।

तर, जारी सिजन कोउटिन्हो बार्सिलोनामा संकटमा छन् । प्रदर्शनमा एकरूपता नभएपछि उनले कमै मात्र सुरुआती टोलीमा स्थान पाउन थालेका छन् । पछिल्ला ७ खेलमध्ये ५ खेलमा कोउटिन्हो बेन्चमै रहे । यो सिजन उनले क्लबका लागि ४ गोल गरेका छन् ।

उनको कमजोर लयका कारण उनी प्रशिक्षक अर्नेस्टो भाल्भर्डेको रोजाइमा पर्न छाडेपछि उनी निकै निराश छन् । अझे पछिल्लो समय बार्सिलोनाले आफ्ना पूर्वस्टार खेलाडी नेइमार फर्काउने योजना पूरा गर्न कोउटिन्होलाई बेच्ने तयारी गरेको चर्चासँगै उनको भविष्य क्याम्प नोउमा थप संकटमा परको छ ।

पछिल्ला रिपार्टहरूअनुसार बार्सिलोनाले नेइमालाई पुनः अनुबन्ध गर्ने रकम जोहो गर्न कोउटिन्होलाई बेच्ने तयारी गरेको छ । यसैबेला बार्सिलोनामा खराब अवस्थासँग जुधिरहेका कोउटिन्हो भित्र्याउन अर्को इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले चासो देखाएको छ ।

इंग्लिस मिडिया ‘मिरर’ का अनुसार अहिले युनाइटेडका प्रतिनिधि कोउटिन्हो भित्र्याउन बार्सिलोनाका अधिकारीसँग संवादमा छन् भने उनीहरूले कोउटिन्होका एजेन्टसँग पनि सम्भावित सरुवाबारे छलफल थालेका छन् ।

तर, कोउटिन्हो भने अहिले नै बार्सिलोना छाड्ने योजनामा देखिँदैनन् । स्पेनिस मिडियामा प्रकाशित समाचारअनुसार कोउटिन्होले आफ्ना एजेन्टसँग आफूले बार्सिलोनाको टोलीमा अझै संघर्ष गर्ने बताउँदै यति चाँडै क्लब छाड्न आफू स्पेन नआएको बताएका छन् ।

‘टोलीमा मेरो स्थान र भूमिकाका लागि म संघर्ष गरिरहेको छु । म विचलित भइसकेको छैन,’ कोउटिन्होले हालसालै मिडियासँग भनेका छन्, ‘म यति चाँडै छाड्नलाई बार्सिलोना आएको होइन ।’