बार्सिलोना पनि च्याम्पियन्स लिगबाट बाहिरियो

बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको छ ।

च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग समग्रमा ५-२ गोलले पराजित हुँदै बार्सिलोना बाहिरिएको हो ।

बार्सिलोनाले बुधबार राति भएको दोस्रो लेगमा पीएसजीसँग १-१ गोलको बराबरी खेलेको थियो । तर, पहिलो लेगमा व्यहोरेको ४-१ गोलको हारको कारण बार्सिलोनाको यात्रा अन्तिम १६ मै टुंगिएको हो ।

पीएसजी भने च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा भएको दोस्रो लेगमा पीएसजीले केलियन एमबाप्पेको पेनाल्टी गोलबाट ३१ औं मिनेटमा अग्रता बनाएको थियो ।

तर, खेलको ३७ औं मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई १-१ को बराबरीमा ल्याए ।

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा मेस्सीले पेनाल्टीमा गोल गर्न सकेनन् ।

एन्टोनियो ग्रीजम्यानलाई पीएसजीका कुर्जावाले फउल गरेपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो ।

तर, मेस्सीको पेनाल्टी प्रहार पीएसजीका गोलकिपर नाभासले उत्कृष्ट बचाऊ गरेका थिए ।

मेस्सीले सन् २०१५ पछि पहिलो पटक च्याम्पियन्स लिगमा पेनाल्टीमा गोल गर्न नसकेका हुन् ।

यससँगै बार्सिलोना सन् २००६/७ को सिजनपछि पहिलो पटक क्वाटरफाइनलमा पुग्न असफल भएको छ ।