बार्सिलोना छोड्दै राकिटिच लोनमा युभेन्ट्स जाने

बार्सिलोनाले हाल टोलीमा रहेका मिडफिल्डरको भिड कम गर्ने उद्देश्यले एक प्रमुख खेलाडीको बिदा गर्ने तयारी गरेको रिपोर्ट बाहिरिएको छ । हाल टोलीमा रहेका क्रोएसियन खेलाडी इभान राकिटिकलाई बार्सिलोनाले सरुवा सिजन बन्द हुनुअघि नै बेच्ने नभए लोनमै भए पनि पठाउने तयारी गरेको हो ।

यसअघि बार्सिलोना र इटालियन युभेन्टसबीच खेलाडी साटफेरका लागि छलफल चले पनि सहमति जुटेन । युभेन्टसले आफ्ना मिडफिल्डर इम्री च्यान दिएर राकिटिक भित्र्याउन बार्सिलोनासँग प्रस्ताव गरे पनि बार्सिलोनाले राकिटिक बेच्ने प्रस्तावमा मात्रै छलफल गर्ने बताएको थियो ।अगस्ट १९ मा बार्सिलोना र युभेन्टसका अधिकारीबीच खेलाडी साटफेरको विषयमा छलफल भएको थियो ।

बार्सिलोनाले आफ्नो मिडफिल्डमा रहेका पहिलो रोजाइका आधा दर्जन खेलाडीमध्येबाट २ जनासम्म कटौती गर्न खोजिरहेको छ । जसमा चिलियन अर्टुरो भिडाल र राकिटिक प्रमुख चर्चामा छन् । बार्सिलोनाले यसै सिजनमा डच क्लब आयाक्सबाट फ्रेन्की डे जोङ अनुबन्ध गरेकाले बार्सिलोनामा मिडफिल्डरको संख्या धेरै भएको हो ।

राकिटिक पछिल्लोपटक बार्सिलोनाले ला लिगामा आफ्नो घरमा रियल बेटिसविरुद्ध खेल्दा पूरै समय बेन्चमै सीमित रहे । सो खेलपछि बार्सिलोनामा राकिटिकको भविष्य अनिश्चित रहेको चर्चा बढ्न थालेको छ ।

बार्सिलोनाले ला लिगामा शनिबार ओसासुनासँग अवे मैदानमा खेल्दैछ । यदि सो खेलमा पनि राकिटिक बेन्चमै रहे उनले बार्सिलोना छाड्ने सम्भावना थप बढ्ने बताइन्छ ।

यसैबेला, राकिटिकको भविष्यलाई समेत ध्यानमा राखेर बार्सिलोनाले उनलाई स्थायी रूपमै बेच्ने वा लोनमै भए पनि पठाउने तयारी गरेको छ । सरुवा बजार सेप्टेम्बरमा २ मा बन्द हुनुअघि नै बार्सिलोनाले राकिटिकलाई स्थायी बिक्री वा लोनमै भए पनि पठाउने सम्भावना प्रबल देखिन्छ ।