बार्सिलोना छाडेपछि हरेक सिजन म असफल भएको छु – पेप गार्डियोला

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डियोलाले बार्सिलोना छोडेपछि असफल मात्र भएको बताएका छन् । ४ वर्ष बार्सिलोनाई प्रशिक्षण दिएका गार्डियोलाले हालै एक अन्तर्वार्ताको क्रममा यस्तो बताएका हुन् ।

सन् २००९ मा बार्सिलोनाबाट ६ वटा उपाधि जितेदेखि आफूले खासै उपलब्धि हासिल गर्न नसकेको उनले बताएका छन् । ११ वर्ष बार्सिलोनाका लागि खेलेका उनले सन् २००९ देखि २०१२ सम्म बार्सिलोनामा रहँदा सफल भएपनि बार्सिलोना छोडेपछि असफलताले च्यापेको बताए ।

‘बार्सिलोनामा पहिलो सिजन ६ वटा उपाधि जितेको थिए । तर, त्यसयता मलाई खासै सफलता हात परेको छैन’, उनले भने, ‘उक्त समयदेखि म हरेक वर्ष असफलताको सामना गरिरहेको छु ।

तथापी, यो सबै मैले नै निर्माण गरेको समस्या हो र मलाई यसले खासै असर पार्दैन ।’

उनले बार्सिलोना छोडेपछि जर्मन क्लब बायर्न म्युनिखको प्रशिक्षण गराएका थिए । सन् २०१३ देखि २०१६ सम्म बायर्न सम्हालेका उनी २०१६ यता इंग्लिस क्लब सिटीबाट उपाधिका लागि निरन्तर प्रयासरत छन् । सन् २०१८–१९ को सिजनमा भने उनले प्रिमियर लिगको उपाधि जितेका थिए ।