बार्सिलोनाले रियल मड्रिडको ११० बर्ष पुरानो रेकर्ड संग बराबरी गर्न सफल

शनिबार राति भएको फाइनल खेलमा सेभिल्लामाथि ५–० को फराकिलो जित हात पार्दै बार्सिलोनाले लगातार चौथोपटक उपाधि जितेको हो ।

बार्सिलोनाको जितमा स्टार लुइस स्वारेजले २ गोल गर्दा अर्का स्टार लिओनल मेस्सीले १ गोल गरे । त्यस्तै, कप्तान आन्द्रेस इनिएस्टाले १ गोल गरे भने फिलिपे कोटिन्होले १ गोल गरे ।
यो जितसँगै बार्सिलोनाले कोपाको इतिहासमै सबैभन्दा धेरै ३० पटक उपाधि जितेको छ । साथै, ३०औं पटक तथा लगातार चौथोपटक उपाधि जित्दा उसले आफ्नो चीर प्रतिद्वन्द्वी रियल मड्रिडको १ सय १० वर्ष पुरानो रेकर्डसँग पनि बराबरी गरेको छ ।

बार्सिलोनाले पहिलोपटक लगातार चारपटक कोपाको उपाधि जितेर रियलको पुरानो रेकर्डसँग बराबरी गरेको हो । रियल मड्रिडले सिजन १९०४/०५ देखि सन् १९०७/०८ सम्म लगातार चारपटक कोपाको उपाधि जितेको थियो । कोपाको इतिहासमा पहिलोपटक लगातार चारपटक उपाधि जित्ने रियल मड्रिड पहिलो टिम हो ।

त्यसपछि लगातार चारपटक कोपाको उपाधि एथ्लेटिको बिल्बाओले पनि जितेको छ । ऊ रियल मड्रिडपछि लगातार चारपटक उपाधि जित्ने दोस्रो टिम हो । उसले सन् १९२९/३० देखि १९३२/३३ सम्म लगातार चारपटक कोपाको उपाधि जितेको थियो ।

त्यसयता कुनै पनि टिमले लगातार चारपटक कोपाको उपाधि जित्न सकेको थिए । तर, बार्सिलोनाले सेभिल्लाई हराउँदै लगातार चारपटक उपाधि जित्ने तेस्रो टिम बनेको छ । बार्सिलोनाले पछिल्ला चार सिजन लगातार कोपाको उपाधि जितेको छ ।