“बार्सिलोनाले मलाई आफ्नो खेलाडी जस्तो व्यवहार गरेन”

बार्सिलोनाका पूर्व खेलाडी म्याथियस फर्नांडिसले क्लबको आलोचना गरेका छन् भने क्लबले उनी माथि गरेको व्यवहारबाट उनी खुसी छैनन्। गत महिना बार्साले म्याथियस फर्नांडिस सँगको सम्झौता खारेज गर्दै उनलाई रिलिज गरे र सो क्रममा बार्साले आफूलाई कुनै जानकारी नदिएको म्याथियसले दाबी गरेका छन्।

म्याथियस फर्नांडिसलाई बार्साले पालमेरियासबाट €१० मिलियनमा साइन गरेको थियो र उनी क्लबमा सर्जियो बुसकेट्सको विकल्प हुने धेरै चर्चा भएको थियो।

तर उनले क्लबमा केवल १७ मिनेटको खेल समय पाए भने गत महिना बार्साले उनी सँगको सम्झौता खारेज गरे। उनी बार्सामा आउँदा उनले आधिकारिक प्रस्तुति गर्ने मौका पनि पाएका थिएनन् र हाल उनले बार्साको आलोचना गरेका छन्।

“मलाई थाहा थिएन, र जब उनीहरूले मलाई बताए मैले यो विश्वास गर्न सकिन” बार्साले आफू सँगको सम्झौता खारेज गरेको बारे उनले क्लबबाट केही जानकारी नपाएको उनले दाबी गर्दै उनले ग्लोबो एस्पोर्टलाई भने।

“म घरमा थिएँ, म मेरी श्रीमतीसँग बाहिर जाँदै थिएँ र मैले क्लबबाट सन्देश प्राप्त गरे र मलाई मेरो इमेलको बारे प्रश्न भएको थियो । मैले आफ्नो इमेलको पुष्टि गरेँ र त्यसपछि मैले जानकारी प्राप्त गरेँ।

“मैले त्यो बुझ्न सकिनँ, मैले यसलाई मेरो म्यानेजर र वकिललाई पठाएँ। तिनीहरूले भने कि त्यो क्लब सँग मेरो सम्झौता खारेज भएको सूचना हो। पछि मेरो नाम प्रेसहरूमा आयो। क्लब सँग कुनै कुराकानी भएन, केही पनि भएन, उनीहरूले कुरा गर्न पनि बोलाएनन् र अलबिदा पनि भनेनन्।

“बार्सिलोनाको लागि खेल्ने मैले बच्चा बेला देखि सपना देखेको थिएँ। जब म त्यहाँ पुगेँ, उनीहरूले मलाई फुटबलरलाई जस्तो व्यवहार गरेनन्। मैले क्लब निर्देशकलाई भने कि क्लबले मलाई बार्सिलोनाको पेशेवर खेलाडी जस्तो व्यवहार गरेन।

“म बार्सिलोनाका खेलाडी थिएँ तर क्लबले मलाई सो किसिमको व्यवहार गरेन। अन्य नयाँ खेलाडीहरूको प्रस्तुतीकरण थियो र जुन मैले पाइन। बाहिरबाट हेरेर मैले एउटा कुरा सोचेको थिएँ तर जब म त्यहाँ पुगेँ उनीहरूले मेरो साथ अलग व्यवहार गरे।”