बार्सिलोनाले भित्र्यायो नयाँ खेलाडी, को हुन? पुरा जानकारी

बार्सिलोनाले इंग्लिस क्लब वेस्ट ब्रोमबाट युवा फरवार्ड लुइस ब्यारीलाई अनुबन्धन गरेको छ ।इंग्ल्यान्डको यू-१६ राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका ब्यारीलाई युरोपका ठूला क्लबले पछ्याइरहेका थिए ।

पीएसजीले ब्यारिका लागि औपचारिक प्रस्ताव राखेपनि वेस्ट ब्रोमले बार्सिलोनाको प्रस्ताव स्वीकारेको हो । प्रिमियर लिगका अन्य क्लबले ब्यारिको खेल हेरेपनि औपचारिक प्रस्ताव भने अगाडि बढाएका थिएनन् ।

ब्यारीले बार्सिलोनासँग ३ वर्षको सम्झौता गर्दै यू-१९ टोलीमा सामेल हुने भएका छन् । वेस्ट ब्रोममा एक दशकदेखि प्रशिक्षण गरिरहेका ब्यारीले गत सिजन वेस्ट ब्रोमको यू-२३ टोलीबाट डेब्यु गरिसकेका छन् ।

आयरल्यान्डमा जन्मिएका ब्यारीले यसै वर्षदेखि इंग्ल्यान्डबाट खेल्ने निर्णय लिएका थिए । उनले ब्राजिलविरुद्ध डेब्यु गरेयता ९ खेलमा ७ गोल गरिसकेका छन् । उनले यूईएफएले आयोजना गरेको भाल डे मार्ने प्रतियोगितामा गोल्डेन बुट समेत हात पारेका थिए ।