बार्सिलोनाले जित्यो स्पेनिस सुपर कपको उपाधि

मोरक्कोको टांजियर स्थित स्टेड डी टांजियरमा सम्पन्न खेलमा बार्सिलोनाले सेभियालाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको हो ।

खेलमा सेभियाले अग्रता लिएको भए पनि बार्सिलोनाले कमब्याकक गरेर उपाधि जितेको हो । डिफेन्सिभ खेल खेलेको सेभियाले खेलको ९ औं मिनेटमा नै अग्रता लिएको थियो ।

सेभियाको लागि पाब्लो साराबियाले लुईस मुरियलको पासमा गोल गरेका थिए ।

त्यसै गरि खेलको ४२ औं मिनेटमा जेरार्ड पिकेले बराबरी गोल फर्काएका थिए । लियोनल मेसीको फ्रि–किकलाई सेभियाका गोलकिपर थोमार भाक्लिकले बचाएपछिको बललाई पिकेले ट्यापइन गोल गरेर खेल बराबरीमा ल्याएका हुन् । त्यस्तै, ७८ औं मिनेटमा मेसीको पासमा ओस्माने डेम्बेलेले डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएपछि बार्सिलोनाले अग्रता लिएको थियो ।