बार्सिलोनालाइ पछि पार्दै लिभरपुलले भित्रायो कीर्तिमानी खेलाडी

लिभरपुलले बार्सिलोनालाइ पछि पार्दै फुलह्यामबाट युवा स्टार खेलाडी हार्भे इलियोटलाई भित्र्याएको छ । १६ वर्षका अट्याकिङ मिडफिल्डर इलियोट प्रिमियर लिगमा खेल्ने सबैभन्दा कम उमेरका खेलाडी हुन् ।

प्रिमियर लिगमा गएको मे महिनामा उल्भरह्याम्टनसँग खेल्दा इलियोट १६ वर्ष ३० दिनका थिए । जुन प्रिमियर लिगका सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान हो । त्यसअघि १६ वर्ष ६८ दिनमा २००७ को मे महिनामा फुलह्यामकै लेफ्ट ब्याक म्याथ्यु ब्रिग्सले कान्छा खेलाडीको कीर्तिमान राखेका थिए ।

२००३ को अप्रिलमा जन्मिएका इलिअट पछिल्लो पुस्ताका उत्कृष्ट खेलाडीका रुपमा चिनिएका छन् । विंगर र अट्याकिङ मिडफिल्डरको भूमिकामा देखिन सक्ने इलियोटको लिभरपुल आगमन कति रकममा भएको हो भन्ने चाहीँ खुलेको छैन ।

‘लिभरपुलमा आउन पाउँदा खुशी लागेको छ । सानो बेलादेखि समर्थन गरिरहेको क्लबसँग आबद्ध हुन पाउनु एउटा सपना पूरा भएको क्षण हो । म सकेसम्म कडा मेहनत गर्दै अगाडि बढ्ने छु’ इलियोटले भनेका छन् ।