बार्सिलोनालाइ उछिन्दै सेभिल्ला ला लिगाको शीर्षस्थानमा उक्लियो

रियल भालाडोलिडलाई पराजित गर्दै सेभिल्ला स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार घरेलु मैदान स्टाडीयो रामोन सान्चेज पिजुआनमा भएको खेलमा सेभिल्ला १-० ले विजयी रहयो ।

खेलको ३० औं मिनेटमा पाब्लो सराबियाको क्रसमा आन्द्रे सिल्भाले हेडर मार्फत गोल गर्दै सेभिल्लालाई अग्रता दिलाएका थिए । खेलको सुरुवाती समयदेखि नै दबाब बनाएको सेभिल्लाले थप गोल गर्न भने सकेन । खेलको अन्तिम समयमा गोलरक्षक थोमा वाक्लिकले उत्कृष्ट बचाउ गर्दै सेभिल्लाको ३ अंक जोगाएका थिए ।

शनिबार एटलेटिको म्याड्रिडको घरेलु मैदानमा बार्सिलोना र एटलेटिकोको खेल १-१ को बराबरीमा टुंगिएपछि सेभिल्लालाई शीर्षस्थानमा जाने अवसर जुरेको थियो । लिग तालिकामा सेभिल्ला १३ खेलमा २६ अंक सहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानको बार्सिलोनाले २५ अंक जोडेको छ ।