‘बार्सिलोनामा नेयमार फर्केको हेर्न नचाहने मानिस पनि छन्’ – मेस्सी

लियोनल मेस्सीले क्लबका केही व्यक्तिले नेयमार फर्किएको हेर्न नचाहेको बताएका छन् । मेट्रो एफएमसँगको कुराकानीका क्रममा पूर्वसहकर्मी नेयमारको विषयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सन् २०१७ मा कीर्तिमानी रकममा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका नेयमारलाई पुनः बार्सिलोना फर्किन गाह्रो भइरहेको मेस्सीको भनाइ छ ।

मेस्सीले भनेका छन्, ‘नेयमारलाई पुनः बार्सिलोना फर्किन मुस्किल भइरहेको छ । किनकी, बार्सिलोनामा केही त्यस्ता मानिस छन् जो नेयमार क्लब नफर्किऊन् भन्ने चाहान्छन् ।’

२ सय २२ मिलियन युरोमा विश्वकै सर्वाधिक महंगा खेलाडी बन्दै पीएसजी गएका नेयमार पुनः ला लिगा क्लब फर्किने मनसायमा छन् । यसअघि बार्सिलोनाले उनलाई क्लबमा फर्काउन जोड गरेको भएपनि पीएसजी र बार्सिलोनाबीच उनको मूल्यको कुरामा टुंगो नलाग्दा नेयमारको सरुवा अन्यौलमा परेको थियो ।

ब्राजिलियन स्टार नेयमारसँग ४ वर्ष एकसाथ खेलेका मेस्सीले भनेका छन्, ‘उनलाई फर्काउन मुस्किल भइरहेको छ । पहिलो कारण त उनले छोड्दै गरेको हेर्न मुस्किल थियो, दोस्रो उसले कसरी छोड्यो । यहाँ हाम्रै क्लबमा केही सदस्यहरू छन् जो नेयमार फर्किएको हेर्न चाँहदैनन् । खेलका आधारमा भन्ने हो भने, नेयमार विश्वकै उत्कृष्ट हुन् । तर, यो कुरा म मात्र बुझ्छु, अरुले बुझ्दैनन् ।’