बार्सिलोनाको सान्दार जित – मेस्सी र सुवारेजको उत्कृष्ट प्रदर्सन

ला लिगाअन्तर्गत आइतबार बार्सिलोनाले यसै सिजन शीर्ष लिगमा आएको क्लब हुएस्कालाई ८-२ ले पराजित गरेको छ । खेलको तेस्रो मिनेटमै बार्सिलोना पछाडी परेपनि त्यसपछि क्याटलान क्लबले उत्कृष्ट पुनरागमन गर्यो ।

हुएस्काले जुआन क्यामिलोको तेस्रो मिनेटको गोलमा अग्रता लिएको थियो । तर मेसीले १६ औं मिनेटमा इभान राकीटिचको पास सदुपयोग गर्दै खेल बराबरीमा ल्याए । लगत्तै २४ औं मिनेटमा जोर्गे पुलिडोको आत्मघाती गोलमा बार्सिलोना अगाडी बढ्यो । लुइस सुआरेजले जोर्डी अल्बाको पासमा गोल गर्दै खेल ३-१ को स्थितमा पुर्याए । एलेक्स गल्लारले पाहुना टोलीका लागि पहिलो हाफको अन्त्यतिर गोल गर्दै अन्तर कम गरे ।

दोस्रो हाफको तेस्रो मिनेटमा लयमा रहेका ओस्मान डेम्बेलेले गोल गरे । उनले सुआरेजको पासमा दुई गोलको अग्रता पुन: कायम गरे । त्यसपछि ९ मिनेटको अन्तरमा मेसी र राकीटिचले गोल गर्दै खेल हुएस्काको पक्षमा फर्कन नदिने स्थिति तयार पारे ।

मेसीले ८१ औं मिनेटमा अल्बालाई पास दिए र डिफेन्डरले कुनै गल्ति गरेनन् । अन्तिम सयमा सुआरेजले पेनाल्टीमार्फत गोल गर्दै बार्सालाई सहज जित दिलाए । यो सिजनको सबैभन्दा फराकिलो जित पनि हो । बार्सिलोनाले यस जितसँगै लिगको शीर्ष स्थानमा अंक बराबर गरेको छ । रियलले पनि तीन खेल जित्दै ९ अंक बटुलेको छ ।