बार्सिलोनाको शानदार जित

लिगको छैटौं स्थानको टोलीविरुद्ध आफ्ना केही प्रमुख खेलाडीलाई बेन्चमा राखेर उत्रेको बार्सिलोनालाई जिताउन उसामान डेम्बेलेले २ गोल गर्दा लिओनल मेस्सी, फिलिपे कोटिन्हो, पाउलिन्होले १–१ गोल गरे ।

बार्सिलोनाले पहिलो हाफमै ३–० को सहज अग्रता लिएको थियो । खेलको ११औं मिनेटमा फिलिपे कोटिन्होले गोल गरेर खाता बार्सिलोनाका लागि गोलको खोलेका थिए । उनले उसामान डेम्बेलेको प्रहार गोलरक्षकबाट रि–बाउन्ड भएर आएको बलमा गोल गरेका थिए ।

त्यसपछि खेलको १६औं मिनेटमा बार्सिलोनाका लागि दोस्रो गोल पाउलिन्होले गरे । उनको गोल अफ् साइड रहे पनि रेफ्रीले ध्यान नदिँदा बार्सिलोनाको खातामा २ गोल भयो ।

त्यसपछि पहिलो हाफको अन्तिम समयमा बार्सिलोनाका लिओनल मेस्सीले गोल गर्दै टोलीलाई पहिलो हाफमा ३–० को अग्रता दिलाए ।

पहिलो हाफमा भिल्लारियलले पनि दुईपटकसम्म गोल गर्ने अवसर पाए पनि उसले त्यसको सदुपयोग गर्न सकेन ।
त्यसपछि दोस्रो हाफमा पाहुना टोली भिल्लारियलले १ गोल फर्कायो । उसका लागि खेलको ५४औं मिनेटमा निकोला सानसोनले गोल गरेर टोलीलाई खेलमा फर्काउने संकेत गरेका थिए ।

तर, खेलको ८७औं र ९३औं मिनेटमा मिनेटमा डेम्बेलेले २ गोल गरेपछि बार्सिलोनाले ५–१ को जित पक्का गर्यो ।

यो जितसँगै बार्सिलोना ला लिगामा नयाँ इतिहासनजिक पुगेको छ । हालसम्म लिगमा अपराजित रहेको बार्सिलोना अब नहारी सिजन सिध्याउने नयाँ रेकर्डबाट मात्रै दुई खेलले टाढा छ ।

लिगको ३४औं हप्ताको खेलबाट जारी सिजनको उपाधि जितेको बार्सिलोना अब लिगका बाँकी दुई खेल लेभान्टे र रियल सोसिडाडविरुद्ध अपराजित रहे उसले एक खेल पनि नहारी सिजन सिध्याउने रेकर्ड बनाउने छ ।