बार्सिलोनाको फराकिलो जित; बेन्चबाट आएर मेस्सीले देखाए जादु

स्पेनिस ला लिगामा बार्सिलोनाले सहज जित निकालेको छ ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित रियल बेटिसलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे । ओसुमाने डेम्बेले, एन्टोनियो ग्रिजम्यान र पेड्रीले एक एक गोल थपे ।

बेटिसका एन्टोनियो सानाब्रिया र लोरेन मोरानले एक एक गोल फर्काए ।

क्याम्प नाउमा डेम्बेलेले २२ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

३३ औं मिनेटमा ग्रिजम्यानले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार बेटिसका गोलकिपर क्लाउडियो ब्राभोले रोकेका थिए ।

पहिलो हाफको इन्जुरी समयमा एन्टोनियोले गोल गर्दै बेटिसलाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ४९ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए ।

खेलको ६१ औं मिनेटमा मान्डीले रातो कार्ड पाएपछि बेटिस १० खेलाडीमा समेटियो ।

आफ्नो पेनाल्टी क्षेत्रमा हातले बल रोकेपछि मान्डीले रातो कार्ड पाएका थिए । र, बार्सिलोनाले पेनाल्टी पाएको थियो ।

जसमा परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका मेस्सीले सहजै गोल गर्दै टोलीको अग्रता ३-१ को बनाए । मेस्सी अन्सु फातीको स्थानमा ४६ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

खेलको ७४ औं मिनेटमा बेटिसका मोरानले गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए ।

८२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-२ को अग्रता दिलाए ।

त्यसपछि खेलको ९० औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई ५-२ को जित दिलाए ।