बार्सिलोनाको फराकिलो जितमा कौटिन्होको गोल

स्पेनिस क्लब बार्सिलोनाले मैत्रीपुर्ण खेलमा सहज जित हात पारेको छ । बार्सिलोनाले दोस्रो डिभिजिनको क्लब जिम्नास्टिक डि टारागोनामाथि ३–१ को सहज जित हात पारेको हो ।

बार्सिलोनाको सहज जितमा औसमाने डेम्वेले, एन्टोइन ग्रिजमन र फिलिपे कौटिन्होले गोल गरे । जिम्नास्टिकका जाभी बोनिल्लाले एक गोल फर्काए । बार्सिलोना छाड्ने सनसनी पुर्ण निर्णय गरेर यु टर्न भएका अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले टोलीको कप्तानी गर्दै पहिलो खेल खेले ।

उनले रोनाल्ड कोम्यानको प्रशिक्षणमा ४५ मिनेट मैदानमा बिताएका थिए । खेलको छैटौ मिनेटमा औसमाने डेम्वेलेको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । १७औं मिनेटमा एन्टोइन ग्रिजमनले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई २–० ले अघि बढाए । ३१औं मिनेटमा जाभी बोनिल्लाले गोल गर्दै खेललाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

दोस्रो हाफमा बार्सिलोनाले पुरै टोली परिवर्तन गरेको थियो । दोस्रो हाफमा नै अवसर पाएका ब्राजिली फिलिपे कौटिन्होलो गोल गर्दै बार्सिलोनालाई ३–१ को सहज जित दिलाए ।

यस जितसँगै बार्सिलोनाले ला लिगाको लागि तयार रहेको संकेत दिएको छ । बार्सिलोनाले १६ सेप्टेम्वरमा जिरोनासँग अर्काे मैत्रीपुर्ण खेल खेल्दैछ । त्यसपछि बार्सिलोनाले २७ सेप्टेम्वर भिल्लारियलसँग खेल्दै ला लिगाको शुरुवात गर्नेछ ।