स्पेनिस लिग ला लिगा अन्तर्गत मंगलबार राती भएको खेलमा बार्सिलोनाले कठिन जित दर्ता गरेको छ ।
बार्सिलोनाको जितमा खेलको ८५ औं मिनेटमा राफिन्हाले निर्णायक गोल गरेका थिए । यसअघि बार्सिलोनाका लागि खेलको ४८ औ मिनेटमा पेड्रीले गोल गर्दै खेल बराबरी गरेका थिए ।
पहिलो हाफमा १-० ले पछि परेको बार्सिलोनाले दोस्रो हाफमा पुनरागमन गर्दै जित हासिल गरेको थियो ।
ओसासुनाका लागि खेलको छैटौं मिनेटमा ग्रासियाले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।
यस खेलमा बार्सिलोनाका रोबेर्ट लेवानडोस्कीले खेलको ३१ औं मिनेटमा रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो । लेवानडोस्कीले खेलमा लगातार दोस्रो पहेलो कार्ड पाएपछि मैदान छोडेका थिए ।
त्यस्तै यस खेलमा सब्सटिच्यूटमा रहेका जेरार्ड पिकेले हाफ टाइममा रेफ्रीसँग बहस गरेपछि बेन्चमै रातो कार्ड पाएका थिए । सन्यासको घोषणा गरेका पिकेको यो क्यारियरको अन्तिम खेल थियो ।
जितपछि बार्सिलोनाको १४ खेलमा ३७ अंक भएको छ र एक खेल कम खेलेको रियल म्याड्रिडसँग ५ अंकको अग्रता बनाएको छ ।
त्यस्तै ओसासुनाको भने १३ खेलमा २३ अंक रहेको छ ।